• १९ असोज २०८१, शनिबार

कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ सम्पन्न

blog

काठमाडौं, कात्तिक १ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको  निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । यस पटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र छपाइ गरिँदै छ ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने छ ।