• १३ साउन २०८१, आइतबार

उम्मेदवारसँग मतदाताको अपेक्षा

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक १ गते । धनगढी उपमहानगरपालिका–८ की ललिता सोब एकल महिला हुनुहुन्छ । बेरोजगार उहाँ एकल महिला भत्ताको भरमा जेनतेन गुजारा गर्दै आउनुभएको छ । एकल महिलाले क्षमतानुसारको रोजगारी पाउनुपर्ने माग राख्दै आउनुभएकी ललिताले उम्मेदवारले यस्ता सवाल सम्बोधन गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कैयौँ निर्वाचनमा भोट खसालिसकेँ तर हामीजस्ता महिलाको समस्या दीर्घकालीन रूपमा समाधानका लागि पहल गर्ने जनप्रतिनिधि भेटिएका छैनन् । अब हुने निर्वाचनका उम्मेदवारले कम्तीमा पनि यस्ता सवाललाई समेट्नुपर्दछ ।”

उहाँले भन्नुभयो, “जीविकोपार्जन गर्न समस्या भएको थियो । भत्ता नमिलेको भए त गुजारा गर्नै कठिन हुन्थ्यो ।” ललिता त एउटा उदाहरण मात्रै हुनुहुन्छ, उहाँको जस्तै उम्मेदवारसित धेरैको विभिन्न खालको अपेक्षा छ । देशमा गरिबी र बेरोजगारीको समस्यालाई बुझेर उम्मेदवारले रोजगारीका लागि पहल गर्नुपर्ने उहाँहरूको भनाइ छ । कैलारी गाउँपालिका–५, बैजपुरका बालमोतीकुमारी चौधरीले  भन्नुभयो, “उम्मेदवारबाट धेरै त के आस गर्नू ? जुन जोगी आए पनि कानै चिरेका तर पनि उहाँहरूले आफ्नो प्रतिबद्धता, देश र जनताको परिस्थितिअनुसार काम गरिदिनुहुन्छ भन्ने आशा छ ।” 

हरेक नागरिकलाई प्राप्त अधिकार कागजी रूपमा सीमित नहोस् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । चुनावी पारा तात्दै गर्दा अहिले विभिन्न प्रतिबद्धता लिएर भोट माग्न उम्मेदवारहरू सहर, गाउँबस्ती पुगिरहेका छन् । उनीहरूले आफ्नो पक्षमा भोट पार्नका लागि जनतालाई विभिन्न आश्वासन दिन थालेका छन् । नेपाल कृषिप्रधान देश रहेकाले उम्मेदवारले किसानलाई खेती किसानीका लागि सहज हुने वातावरण बनाउन पहल गर्नुपर्ने जोशीपुर गाउँपालिका–५, सिमरानाका कृषि प्राविधिक अभिमन्यु चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “मलखाद, बीउबिजनलगायत किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सक्नुपर्दछ । जनताको प्रमुख आवश्यकता के छ त ? त्यसलाई बुझी समाधान अनि विकास गर्नुपर्दछ ।”

उम्मेदवारले जनतामुखी कार्यक्रम ल्याउनुका साथै बाटोघाटो, पुलपुलेसा, शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता राखी प्राविधिक शिक्षालाई जोड दिन आवश्यक रहेको चौधरीले उल्लेख गर्नुभयो । उम्मेदवारहरूले आफू जितिसकेपछि आफ्नो क्षेत्रको दिगो विकासका लागि योजनाका साथ अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई एक नम्बरमा राखेर किसानमुखी योजना ल्याएर कार्यान्वयन गर्नुपर्ने चौधरीको जोड छ । “शिक्षाको अवस्था एकदम नाजुक रहेकाले दीर्घकालीन उपलब्धिमूलक योजना ल्याई अगाडि बढ्नुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो ।  

उम्मेदवारहरूले युवाका लागि स्वरोजगारमुखी योजना ल्याउनुपर्ने कतिपयको जोड छ । गौरीगङ्गा नगरपालिका–११, कान्तिपुरका वीरबहादुर चौधरीले युवालाई स्वरोजगार बनाउन आवश्यक रहेको भन्दै उम्मेदवारले पिछडिएका समुदायको अधिकार संविधानमा समावेश गराउनुपर्ने बताउनुभयो । अहिलेको आवश्यकता कृषिमा आधुनिकीकरण र किसानको उत्पादनलाई व्यवस्थित बजारीकरण गर्नु पनि रहेकाले उम्मेदवारले यस्ता सवाललाई ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । चौधरीले भन्नुभयो, “स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा जोड दिनुका साथै सुकुम्बासीको जग्गा नाप हुनुपर्ने विषयलाई पनि उम्मेदवारले अघि बढाउनुपर्छ ।” पछिल्लो समय कैलालीमा सामुदायिक छाडा चौपाया समस्या पनि विकराल बन्दै गएको छ । छाडा चौपाया व्यवस्थापन कार्य स्थानीय सरकारका लागि टाउको दुःखाइको विषय नै बनिसकेको छ । आमनिर्वाचनका उम्मेदवारले हाल खुला रूपमा छोडिएका छाडा पशुचौपायाको व्यवस्थापनलाई प्राथमिकतासाथ उजागर गर्नुपर्ने कैलारी गाउँपालिका–५ की कविता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बेरोजगारलाई उसको क्षमतानुसारको रोजगारीको वातावरण पनि सिर्जना हुनुपर्छ ।”