• २० साउन २०८२, मङ्गलबार

सिद्धार्थ केबलकार पुनः सञ्चालन

blog

बुटवलमा सञ्चालित सिद्धार्थ केबलकार । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन २० गते । असार दोस्रो सातादेखि बन्द रहेको बुटवलस्थित सिद्धार्थ केबलकार पुनःसञ्चालनमा आएको छ । बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोटगढी जोड्ने केबलकारको थप पूर्वाधार निर्माण र सिस्टम अपग्रेटसँगै पुनः सञ्चालनमा आएको हो । 

बटम स्टेसन र टप स्टेसनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केबलकार साउनको दोस्रो हप्तादेखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केबलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो ।

यो अवधिमा केबलकारको सिस्टम अपग्रेटसँगै पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेसनमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेस्टुरेन्ट भवन निर्माण तथा टप स्टेसनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतको काम गरिएको छ । 

त्यसमध्ये रेस्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधीन अवस्थामै रहेको कम्पनिका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो । दुई किलोमिटर दूरी रहेको केबलकारमा ८ जना क्षमताका २५ वटा गोण्डुला रहेका छन् । जसमा बटम स्टेसन, टप स्टेसन तथा पोलहरूमा यसअघि चेन हलेज सिस्टम थियो ।

त्यसलाई अहिले टायर हलेज सिस्टममा बदलिएको छ । कार्कीका अनुसार यसले केबलकारको गति बढाउँछ भने यात्राको समय घटाउँछ । त्यस्तै, पोलहरूमा खडखडाउने आवाज पनि बन्द भएको उहाँले बताउनुभयो । त्यस्तै, पहुँचमार्गमा दुवैतर्फ विद्युत्तीकरण गरिएको र पूर्वाधार निर्माणको काम बाँकी रहेको प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताउनुभयो । 

यो केबलकारको बटम स्टेसन बुटवल वडा १ मा रहेको छ भने टप स्टेसन पाल्पाको तिनाउँ गाउँपालिका वडा १ को नवाकोट गढीमा पर्दछ । नेपाल अंग्रेज युद्धसँग जोडिएकाले यसले धेरै महत्त्व बोकेको छ । केवलकारको बटम स्टेसन समुद्रि सतहबाट तीन सय मिटर र टप स्टेसन समुद्री सतहबाट आठ सय मिटरको उचाइमा रहेको छ । 

यहाँ शान्त, सितल, हरियाली र मनमोहक दृश्यले पर्यटकलाई बोलाइरहेका त्यसको मध्यस्थकर्ताको रूपमा सिद्धार्थ केबलकार खडा भएको प्रवन्ध सञ्चालक अधिकारीको भनाइ छ । करिब २५ सय ६७ वर्षअघि कपिलबस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो दरबार तिलौराकोटबाट वैशाख पूर्णिमाका दिन माइत देवदह जाने क्रममा लुम्बिनी उद्यानमा मङ्गलसालको छहारीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । 

सिद्धार्थ गौतमको जन्मपश्चात उत्तरतर्फ ७ पाइला किंवदन्तीका आधारमा सिद्धार्थ गौतमकाके ७ पाइलाको प्रतीकको रूपमा बटम स्टेसनमा ६ वटा र टप स्टेसनमा एउटा गरी ७ वटा कमलको फूल निर्माण गरिएको उहाँको भनाइ छ । 

सिद्धार्थ गौतमबुद्धले बाल्यकालको शिक्षा पनि यसै स्थानमा आर्जन गरेको र लुम्बिनीसँग घनिभूत सम्बन्ध भएकाले यो भूमिमा निर्माण गरिएको केबलकारको नामकरण पनि सिद्धार्थ गौतम बुद्धको नामबाट राखिएको उहाँको भनाइ छ । त्यसैगरी बटम स्टेसन नुवाकोटमा सेनकालमा निर्मित आराध्यदेव कालभैरवको मन्दिरमा भाकल गरेको मङ्गलकार्यबाट सिद्धि प्राप्त हुने जनविश्वास छ ।