• ८ मंसिर २०८१, शनिबार

राजनीतिमा संस्कार विनिर्माण

blog

राजनीतिक संस्कार राजनीतिक प्रणालीप्रति रहने आमनागरिकको अभिरुचि, विश्वास तथा भावनाको समूह हो। राजनीतिक संस्कारले राजनीतिक प्रवृत्तिमा के भइरहेको छ, जस्ता गतिविधिको अध्ययनभन्दा बढी जनताले त्यस्ता गतिविधि वा घटनाप्रति के सोच्छन् भन्ने कुराको अध्ययन गर्छ। राजनीतिक संस्कार व्यक्तिको राजनीतिक व्यवस्था र राजनीतिप्रतिको मनोवृत्ति र उन्मुखीकरण हो। संस्कारको सम्बन्ध मानव चेतनासँग रहन्छ। राजनीतिक संस्कारको सार भनेको कुनै पनि राज्यका आमनागरिकमा रहने तत्कालीन राजनीतिक प्रणाली, राजनीतिक विचार, राजनीतिक सिद्धान्त र चरित्रप्रतिको एकीकृत प्रवृत्ति हो। त्यो प्रवृत्ति निर्माण वा विनिर्माण जुनसुकै हुन सक्छ। 

संस्कार विनिर्माण र यसका आयाम 

कुनै निश्चित राजनीतिक प्रणाली, त्यसको कार्यशैली, सम्प्रभुहरूको चरित्र तथा प्रवृत्तिप्रतिको विश्वास स्खलित भएर पुनर्संरचित राजनीतिक संस्कारको अवस्था राजनीतिक संस्कारको विनिर्माण हो। आस्था अनास्थामा परिणत हुने र समर्थन विरोधमा परिवर्तन हुने अथवा अनास्था आस्थामा रूपान्तरण हुने र विरोध समर्थनमा रूपान्तरण हुने राजनीतिक संस्कारको सुरुवातलाई राजनीतिक संस्कारको विनिर्माण मानिन्छ। कुनै एउटा व्यक्तिको राजनीतिक संस्कार विनिर्माणमा प्रभाव पार्ने केही आयाम छन्। औपचारिक वा अनौपचारिक विभिन्न माध्यमबाट समाजमा एउटा व्यक्तिले जे–जति सूचना प्राप्त गर्छ, त्यसबाट कुनै न कुनै प्रकारको राजनीतिक ज्ञान हासिल गर्छ। यसरी प्राप्त हुने ज्ञानको आधारमा आफ्नो राजनीतिक संस्कारको विनिर्माण गर्छ। समाजमा विद्यमान विभिन्न तìवबाट प्राप्त अनुभव र ज्ञानले व्यक्तिमा नयाँ भावनाको निर्माण गर्छ। भावनात्मक आवेगको परिणाममा कुनै पृथक् राजनीतिक संस्कार जन्मने गर्छ। राजनीतिक संस्कार विनिर्माणको सबैभन्दा महìवपूर्ण पक्ष भनेको राजनीतिक क्रियाकलाप, राजनीतिक प्रणालीको विशेषता, राजनीतिक कार्यसम्पादन शैली, सम्प्रभुको आचरण र प्रवृत्तिको सूक्ष्म अध्ययन तथा 

मूल्याङ्कनबाट व्यक्तिमा उत्पन्न हुने मनोदशा हो। यिनै आयाममा विनिर्मित राजनीतिक संस्कारले विद्यमान सम्प्रभु र उसको राजनीतिक प्रणालीको आयु निर्धारण गर्छ। 

प्रत्येक राज्यमा विभिन्न जाति, वर्ग र समुदायको आ–आफ्नो सोचाइ र दृष्टिकोण हुँदाहुँदै पनि साझा दृष्टिकोण, भावना र संस्कृति बनेको हुन्छ। यो राष्ट्रिय एकताको संस्कृति हो। यही संस्कृतिबाट व्यक्ति एक अर्कामा मात्र जोडिँदैन बरु राष्ट्रसँग तादात्म्यता राख्छ र आफूलाई राष्ट्रको एक अङ्गका रूपमा रहेको महसुस गर्छ। नागरिकको आपसी सम्बन्धबाट निर्माण हुने संस्कार अर्को प्रकारको राजनीतिक संस्कार हुन्छ। विभिन्न भाषाभाषी, धर्म, जाति, वर्ग र समुदायबीच रहने भावना, दृष्टि तथा व्यवहारबाट राजनीतिक संस्कार प्रभावित भइरहेको हुन्छ। आपसी अविश्वास, वितृष्णा र असहिष्णु प्रवृत्तिबाट विद्रोहको संस्कृति निर्माण हुन सक्छ भने आपसी सहयोग र विश्वासबाट सद्भावपूर्ण संस्कारको विकास हुन्छ। सरकार र त्यसका सम्प्रभुको कार्यशैली, चरित्र र प्रवृत्ति कुनै पनि राजनीतिक संस्कार विनिर्माणका लागि अन्तिम र निर्णायक बन्छ। 

राजनीतिक प्रक्रिया र संस्कार विनिर्माण

राजनीति भनेको शक्ति प्राप्त गर्ने, प्राप्त शक्तिलाई बचाइराख्ने र शक्ति परिचालन गर्ने कार्यको निरन्तरता हो। नीति निर्माण, निर्णय निर्माण, निर्णय कार्यान्वयन, कार्यशैली र चरित्रका माध्यमबाट समाजलाई यथास्थानमा राख्ने वा रूपान्तरण गर्ने कार्यको सामूहिक नाम राजनीतिक प्रक्रिया हो। प्रजातान्त्रिक देशको राजनीतिक प्रक्रियालाई निर्देशित गर्न मूल कानुनको व्यवस्था गरिएको हुन्छ। वर्तमान नेपालको राजनीतिक प्रक्रियालाई निर्देशित गर्न नेपालको  संविधान २०७२ क्रियाशील छ। 

नेपालको मूल कानुनले व्यवस्था गरेअनुसार सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्र कार्यान्वयन वर्तमान नेपाली राजनीतिक प्रक्रियाको मूलभूत कार्यभार हो। यसको अलावा संविधानमा उल्लिखित समाजवादउन्मुख राजनीतिक सामाजिक चरित्र प्रकट हुनु अर्को महìवपूर्ण पक्ष हो। 

सुशासन, शान्ति अमनचयन, जीविकोपार्जनको सुनिश्चितता र राष्ट्रियताको जगेर्ना राजनीतिक प्रक्रियाका अनिवार्य अवयव हुन्। केही वर्षअघि नेपाल देशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको राजनीतिक दलको सुविधाजनक बहुमत प्राप्त वामपन्थी सरकार थियो। खड्गप्रसाद ओली नेतृत्वमा बनेको उक्त सरकारको कार्यसम्पादन शैलीबाट उत्पन्न राजनीतिक संस्कार विनिर्माणको उच्चतम रूपले ओली सरकारको पतन सम्भव बनाइदियो। नेपालका आमनागरिक सामाजिक, आर्थिक र राजनीतिक हिसाबले विभिन्न क्लस्टरमा विभाजित छन्। योसँगै राजनीतिक संस्कारको विनिर्माण पनि स्वाभाविक रूपले विभाजित रूपमा भइरहेको दृष्टान्त वर्तमान सत्य हो। सार्वभौम संसद्ले दुई पटक पारित गरेको नागरिकता विधेयक अनुमोदन नगरेर संविधानले तोकेको क्षेत्राधिकार बाहिर जाने इच्छा राष्ट्रपति विद्यादेवी भण्डारीमा देखापरेको छ। यसले पनि राजनीतिक संस्कारको विनिर्माणलाई अवश्यम्भावी बनाइदिएको छ। 

राणा शासन, पञ्चायत शासन र राजाको शासन पतन हुनुमा आमनेपाली नागरिकमा आएको राजनीतिक संस्कार विनिर्माणको भूमिका महìवपूर्ण र निर्णायक मानिन्छ। यसबेला सङ्घीयता कार्यान्वयनको सन्दर्भमा देखापरेको सम्प्रभुहरूको मनोवृत्तिबाट आमनेपाली नागरिकमा राजनीतिक संस्कारको विनिर्माण हुने प्रचुर सम्भावना देखिएको छ। सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको शक्ति तथा अधिकार बाँडफाँट गरिएको छ तर सम्प्रभुको मनोवृत्ति एकात्मकभन्दा माथि उठ्न सकेको देखिँदैन। कर्मचारी व्यवस्थापन, सरुवा र परिचालनमा देखिएको अकर्मण्यता, प्रहरी प्रशासनको परिचालन, प्रमुख जिल्ला अधिकारीको परिचालन, प्रदेशको नामकरणजस्ता विषयमा विद्यमान अकर्मण्यताले राजनीतिक संस्कारको विनिर्माणलाई अनिवार्य बनाउँदै लगेको देखिन्छ। 

कुनै एक जाति र संस्कृति विशेषको परम्परागत वर्चस्वमा न्यूनता र विविधताको प्रवद्र्धन सङ्घीयताको मूल मर्म हो। यो मर्म प्रदेशको नामकरणमा, शक्ति तथा अधिकारको व्यावहारिक विन्यासमा र प्रयोगमा मुखरित हुनुपर्छ। आज प्रदेशको नामकरण गर्ने सन्दर्भ जातीय सङ्कीर्णताबाट ग्रसित राजनीतिक दल र सम्प्रभुको कोपभाजनमा परेको यथार्थ प्रदेश नं. १ को दुरवस्थाबाट बुझ्न सकिन्छ। कतिपय सांस्कृतिक खाद्य पदार्थमाथि अङ्कुश लगाउने राज्य नीतिको निरन्तरताले धार्मिक सांस्कृतिक स्वायत्ततामाथि धज्जी उडाएकै छ। सुकुम्बासीको घाम पानी छल्ने र रात काट्ने छाप्रोमाथि आगो लगाउने अघिल्लो सङ्घीय सरकारको कार्यशैलीबाट आधारभूत मानिसको राजनीतिक संस्कार विनिर्माण हुनु स्वाभाविक छ। 

आम किसानको खेतमा बाली उठाउने समय भइसक्दा बल्ल मल आयात गर्ने सरकारी चरित्रबाट आमनागरिकमा कस्तो राजनीतिक संस्कारको विनिर्माण भइरहेको होला स्वतः अनुमान गर्न सकिन्छ ? उखुको मूल्य तोक्न नसक्ने सरकार अनि बारीमा उखु सुकेर गइरहेको दुर्भाग्य भोग्न विवश किसानले सत्ता र त्यसका सम्प्रभुप्रति कस्तो राजनीतिक संस्कार विनिर्माण गरिरहेका होलान् ? कृषि क्षेत्रमा क्रान्ति गर्ने नारा लगाइरहेको सरकारको कार्यशैलीलाई नियालिरहेका गरिब किसानले राजनीतिक संस्कारको विनिर्माण किन नगर्ने ? देशमा सुशासन कायम गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता हुने र आफू भ्रष्टाचार नगर्ने अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उद्घोष गर्ने सरकारको कार्यशैली राजनीतिक संस्कार विनिर्माणको अर्को कारण बनेकै छ।  चर्चित ३३ किलो सुन काण्ड, वाइडबडी हवाईजहाज खरिद काण्ड, बालुवाटार ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रेस प्रकरणको ७० करोड काण्ड, स्वास्थ्य सामग्री खरिदसम्बन्धी ओम्नी काण्ड, आयल निगमको जग्गा खरिद प्रकरण काण्ड, इनरुवा–काँकडभिट्टा रेलवे ठेक्का प्रकरण काण्ड आदि काण्डमा संसदीय समितिको सिफारिस किन लागू हुँदैन ? यस्ता अनुत्तरित सवालबाट आममानिसमा राजनीतिक संस्कारको विनिर्माण नभएर के हुन्छ त ? 

चीनका कम्युनिस्ट नेता माओत्सेतुङले चिनियाँ क्रान्तिकाल र त्यसपछि आफ्ना नेताकार्यकर्तालाई अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुरा अनिवार्य लागू गराएका थिए। चीनको अर्थराजनीतिले विश्वलाई गाइड गरिरहेको छ। नेपालको संविधान २०७२ को भाग–१, धारा–४ ः १ मा समाजवादउन्मुख राज्य उल्लेख गरिएको छ। समाजवाद र उदारवाद बिल्कुल फरक अर्थराजनीतिक विषय हुन्। समाजवादमा शिक्षा, स्वास्थ्य, आवास र खाद्यान्नजस्ता आधारभूत क्षेत्रमा राज्यको हस्तक्षेप हुनुपर्छ। नेपालका सम्प्रभु स्वयं पुँजीवादी अर्थनीतिको दौडमा भाग लिइरहेको देखिनुले समाजवादउन्मुख राज्यको उपहास गरेको छ। समाजवाद र निजीकरण कसरी सँगै जान सक्छ ? समाजवादले उत्पादनका साधनमाथि सामाजिक स्वामित्वको माग गर्छ जबकि निजीकरणले व्यक्तिलाई मालिक बनाउन स्वीकार्छ। राजनीतिक प्रक्रियामा अपराधीकरण हुनु हुँदैन। संविधानको भावना, मर्म र अक्षरको कार्यान्वयन राजनीतिक प्रक्रियाबाट नै हुने हो। राजनीतिक प्रक्रियामा सामेल हुने पात्रको भूमिका नेपालको सन्दर्भमा दुई सदनीय संसद्मार्फत प्रकट हुने संवैधानिक व्यवस्था छ। 

विषय विशेषज्ञ, परिपक्व र समावेशी दृष्टिबाट उपयुक्त व्यक्तिलाई संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सदस्य बनाइनुपर्ने संवैधानिक मर्म र अन्तर्राष्ट्रिय मान्यता पनि हो। नेपालको राष्ट्रिय सभा आमनिर्वाचनमा पराजित र नातागोता र आसेपासेको भर्तिकेन्द्रझैँ देखिन्छ। यो सर्वथा गलत छ। राजनीतिक दलका उपल्लो तहका नेतामाथि भ्रष्टाचारको आरोप लाग्दा कुनै छानबिन नहुने। भ्रष्टाचार र अनियमितताको ढाकछोप नेताबाट नै हुनेजस्ता राजनीतिक अपराधीकरणको नेपाली चरित्रले सुशासनको त धज्जी उडाएकै छ, यसबाहेक राजनीतिक संस्कार विनिर्माणको गतिलाई अझ तीव्र बनाइदिएको छ। ढिलो वा चाँडो राजनीतिक संस्कारकोे विनिर्माणले राज्यसत्ताका सम्प्रभुको फेरबदलदेखि लिएर राजनीतिक प्रणालीको ढाँचामाथि नै बदलाव ल्याउन सक्ने सम्भावनालाई पूर्वानुमान गर्न अप्ठेरो छैन। ओली सरकारको पतन र गठबन्धन सरकारको उदय पछिल्लो राजनीतिक संस्कार विनिर्माणको एउटा दृष्टान्त हो भने आगामी आमनिर्वाचनमार्फत संस्कार विनिर्माणको नयाँ रूप प्रकट हुने सुनिश्चित छ।