• २६ मङ्सिर २०८२, शुक्रबार

इतिहास जोगाउने अवसर

blog

पार्टी जीवनको यो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेस यति बेला इतिहासकै सबैभन्दा दुई ठुला महत्वपूर्ण तर निकै भयानक जँघारका बिचमा छ । एकातिर राष्ट्रको जीवन इतिहासकै सबैभन्दा गम्भीर सङ्कटमा छ । अर्कोतिर परिवर्तनको जँघार तर्न कस्सिएको कांग्रेसभित्र नेतृत्व चयनको अर्को ऐतिहासिक कुम्भ प्रारम्भ हुँदै छ । हरेक राजनीतिक दलको आन्तरिक जीवनमा उसको महाधिवेशन भनेको इतिहासको एउटा त्यस्तो पाना हो, जसले उसको सम्पूर्ण चित्र विम्बित गर्छ । 

एकातिर जेनजी विद्रोहको रापले सेकिएको राष्ट्रिय भावना, खरानी भएका हाम्रा राष्ट्रिय धरोधर, धुवाँको रङमङमा धिपधिप गरिरहेको न्यायपालिका अनि दलविहीन सत्ता नेतृत्व । सङ्कटका यी तमाम कारण आफैँमा समस्या होइनन् । तथापि त्यसका बिच देश चल्नु र चलाउनु भनेको आफैँमा अलौकिक राजनीतिक अवस्था पनि हो । जेनजी विद्रोहले देशमा ल्याएको एक प्रकारको राजनीतिक र सामाजिक उथलपुथलका बिच अहिले पार्टी राजनीतिमा जुन प्रकारको बहस छेडिएका छन्, त्यसले पक्कै पनि नयाँ राजनीतिक दिशा त तय गरेको छ नै तर जुन अलमलमा अहिलेको राजनीति छ त्यसको निकास अन्योलग्रस्त छ । 

यस्तो संवेदनशील घडीमा देशको सबैभन्दा ठुलो, पुरानो र ऐतिहासिक राजनीतिक पार्टी कांग्रेस इतिहासको एउटा यस्तो रणभुलमा अल्झियो जसका कारण उसले केही ऐतिहासिक मौका त पक्कै गुमाएको छ नै यस्तो बेलामा उसले कायम गर्दै आएको ऐतिहासिक पहिचानका केही विम्ब पनि त्यही कारण धूमिल हुन पुगे । एकातिर नेतृत्व परिवर्तनको हुटहुटीले छटपटिइरहेका कांग्रेसका नवपुस्ता अनि विद्रोहको रापले सेकिएका हाम्रा सोच । टकरावका अनोन्याश्रित छालहरूभित्र करिब तीन महिना त्यसै खेर गएका छन् । त्यसमा पनि आफ्नै राजनीतिक जीवनको काँचुली फेर्नुपर्ने यो ऐतिहासिक अवसरमा कांग्रेस फेरि आफ्नै अनावश्यक बहस र विवादका बादलबिच छेलियो । यो उसका लागि सबैभन्दा नमिठो समय बन्यो । किंकर्तव्यबिमूढको अवस्थामा कनीकुथी कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनमा जाने निधो गरेको छ । देशको सङ्कट निकासका लागि आगामी फागुन २१ को निर्वचचन सफलतालाई प्रमुख केन्द्रमा राखेर यसले अन्य सम्भावनाको पनि खोजी गरिरहेको छ । पार्टीको ‘प्राण प्रतिष्ठा’ का लागि महाधिवेशन उसको अर्को आत्मा हुने छ । जसका लागि आउनै लागेको पुस महिना कांग्रेस र यो राष्ट्रको राजनीतिक इतिहासमा पनि एउटा अविस्मरणीय विम्ब बन्ने पक्का छ । 

पुस महिना कांग्रेसका लागि यसकारण पनि अझ महत्वपूर्ण पनि छ भने यो महिना भनेको हाम्रा महामानव बिपी कोइरालाले तत्कालीन समयमा प्रतिपादन गरेको ‘मेलमिलाप नीति’ को मास पनि हो । जसले तत्कालीन नेपाली राजनीतिको बतासलाई एउटै मूलमा ल्याएर परिवर्तनको आँधी ल्याएको थियो । बिपीको त्यो मेलमिलाप नीति आजको राजनीतिक अवस्थाका लागि पनि उत्तिकै खरो ओखती हुनेमा दुईमत छैन । तथापि हामी यो पुस मासमा पार्टीको एउटा नयाँ जीवनयात्राको थालनी गरिरहेका छौँ । जसले कांग्रेसको नवनिर्माण मात्रै होइन, यसको सम्पूर्ण राजनीतिक जीवन परिवर्तनको अर्को इतिहास लेख्ने छ । 

लोकतन्त्रको पहरेदारका रूपमा देशका हरेक मोडमा कांग्रेसले नै नेतृत्व गर्दै आएकाले यो आफैँमा एउटा ऐतिहासिक पार्टी हो । आजको राजनीतिक समाजमा कांग्रेस कहाँ छ ? यसको जवाफ सायदै नेतृत्वसँग हुन सक्छ । तथापि कांग्रेस आमनागरिकको जीवनशैलीसँग गाँसिएको एउटा राजनीतिक नाम पनि हो । पार्टी सदस्यता नलिएरै पनि वा कांग्रेसलाई नचिनेरै पनि भोट हाल्दा ‘रुख’ खोज्नेहरूले धानेको पार्टी हो कांग्रेस । यसका आफ्नै ऐतिहासिक आयाम छन्, आफैँले कोरेका इतिहासका पाना जिउँदा छन् । यस अर्थमा कांग्रेस भनेको कुनै वामपन्थ जस्तो सङ्गठिन पार्टी होइन, यो समुदायमा आफैँ जन्मिएर आफैँ झाँगिएको पार्टी हो । यसो भन्दैमा हामीले पार्टीका हरेक तहका नेतृत्व र सङ्गठनलाई कमजोर बनाउने भनेको होइन वा त्यसै छोड्ने भनेको होइन ।

इतिहास कहिल्यै विकाउ हुँदैन । सधैँ जीवन्त पनि हुँदैन । त्यसका लागि टुकीमा तेल थपे जस्तै बेला बेला परानपखेरु भरिरहनु पर्छ । हामीले इतिहास रचेका छौँ भनेर आजको पुस्ता अनि भावी पुस्ताका लागि पनि कांग्रेस हुनुमा गौरवान्वित हुन सक्ने बनाउनुपर्ने दायित्व आजको नेतृत्वमा छ । हिजो हामीले वा हाम्रा पुर्खाले के गरे त्यसको लेखाजोखामै समय खेर फाल्नुभन्दा पनि अबको पुस्तालाई कांग्रेससँग कसरी जोड्ने भन्ने नयाँ दृष्टिकोण पार्टीलाई यति बेला चाहिएको छ । त्यसकै लागि ‘युथ’ र ‘स्मार्ट’ नेतृत्वको आवश्यकता । युवा यस अर्थमा कि त्यो उमेरले होइन पार्टी जोगाउने उसको दूरदर्शनमा भर पर्ने कुरा हो । ‘स्मार्ट’ यस अर्थमा कि आजको पुस्तालाई उसले राजनीति बुझाउन सकोस् वा राजनीतिमा आशा जगाउन सकोस् । देशमै बस्न मन नगरिरहेको युवा पुस्तालाई एउटा ऐतिहासिक र पुरानो पार्टीमा कसरी गाँस्ने अनि उसलाई कसरी टिकाउने भन्ने अहिलेको नेतृत्वको कार्यशैलीमै निर्भर छ । जेनजी आन्दोलनको एउटा अन्तर्य यो पनि हो । 

अबका केही दशकसम्म नेपाली राजनीतिको नक्सामा त्रिकोणात्मक रेखा प्रस्ट हुने छन् । पहिलो भनेको ‘नयाँ भर्सेस पुराना’ नै हुने छ । एउटा पुस्ताको अपदस्तीकरणसँगै नयाँ पुस्ताको स्थापना आफैँमा एउटा जटिल तर निकै ऐतिहासिक महत्वको क्षण हुने छ । अर्को भनेको, लोकतान्त्रिक र वाम, अर्थात् एमाले र कांग्रेस । अरू कुनै दल निर्णायक हुने गरी सतहमा रहनु यो देशको राजनीतिक भविष्यका लागि ग्राह्य छैन । अरू कुनै दल आउने भए यति बलियो र जबर्जस्त हुनु प¥यो कि तिनले ती दुईमध्ये एकको ठाउँ लिनु प¥यो । जसरी भारतमा अहिले आमआदमी पार्टीले कांग्रेस आइको स्थान लिने सम्भावना बढ्दै गएको छ । कांग्रेसले जति चाँडै थोत्रोतन्त्रबाट मुक्ति पाउँछ, त्यति नै पक्का ढङ्गले वैकल्पिक शक्तिको उदयलाई असम्भव गराउने हो । नेपालमा एमालेको जरा ठुलो ‘स्ट्रक्चर’ नै थाम्ने गरी गाडिएको छ । यो बेला बेला भूकम्पले हल्लिन्छ तर यसको स्वार्थजन्य लचकता (डक्टिलिटी) सङ्गठनका छिद्र छिद्रमा छिराइएको हुनाले ढलिहाल्दैन । लोकतान्त्रिक मूल्य प्रणालीमा हुर्केको कांग्रेसको आफ्नै खाले स्थायी जेनेटिक कोड छ, जुन सुत्छ तर मर्दैन बरु अन्य स्वरूपमा अवतरित हुन्छ । यसलाई सरल शब्दमा बुझ्दा एमाले जागृत रहिरहन सक्ने सङ्गठन हो भने कांग्रेस जीवन्त रहन खोज्ने राजनीतिक आयाम हो । त्यसमा टुटेफुटेका वाम तथा लोकतान्त्रिक पार्टी र माओवादीका अणुहरू राजनीतिका अर्का आयाम हुन सक्छन् । 

सबैभन्दा महत्वपूर्ण त अहिलेको जेनजी पुस्ता हो । यो कुनै उमेर समूह मात्रै होइन बरु यो एउटा युग र समयसँग गाँसिएको नवपुस्ता पनि हो । कांग्रेसले अबको राजनीतिक आदर्शको अर्को पाटोमा यो पुस्ता अनि उसको भावनालाई गाँस्नै पर्छ । त्यसका विकल्पबाट आजको र अबको कांग्रेस कुनै पनि हालतमा भाग्न पाउँदैन । कांग्रेसका लागि अबका दुई वर्ष ‘स्ट्रक्चर र भिजन’ मै काम गर्ने मौका छ । अबका दिनमा कांग्रेसको रूपान्तरणकारी युवा बहुल पङ्क्तिले आन्तरिक सङ्घर्ष चर्काउनुबाहेकको विकल्प देखिन्न । त्यो भनेको नेतृत्व परिवर्तनको पक्कापक्की हो । अर्थात् त्यसको ग्यारेन्टी पनि हो । 

लोकतान्त्रिक शक्ति २१ औँ शताब्दीमा जीवन्त रहन उसले जीविका, समृद्धि, अधिकार, समता र सामाजिक न्याय जस्ता सूचकाङ्कमा काम गरेर कुशल उत्रनु पर्छ । त्यसको नेतृत्वदायी कार्यभार बोक्ने तागत मूलतः दुई तत्वमा हुन्छ –प्रतिभा र उत्कण्ठा । सत्ता गुमेर सिन्डिकेट गुमेको ठान्ने नेता र ठेक्का नपाइने विस्मात्मा परेका कार्यकर्ताले आधुनिक लोकतन्त्रका अवयव धारण गर्न सक्दैनन् । अहिले १४–१८ को उमेर समूहमा रहेका कलिला नागरिकलाई ‘कन्भिन्स’ गर्न सक्ने नयाँ नेता जन्माउन सके मात्र कांग्रेस जीवन्त रहन सक्छ । अहिले जुन नेतृत्व चरित्र छ, उसले त्यसको छेउ त के भेउ पनि देख्दैन । हरेक समाजले फरक समयमा आफ्नै खाले रोल मोडल खोजिरहेको हुन्छ–व्यक्ति, कार्य वा प्रवृत्तिका रूपमा । रोलमोडलको खोजी र त्यसलाई स्थापित गर्ने सिलसिलामा सबैभन्दा प्रभावशाली भूमिका अहिलेको सबैभन्दा ठुलो राजनीतिक दलको हैसियतले कांग्रेसको हो ।