कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने आधारभूत कार्य गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो । यस्तो शिक्षा जीवन उपयोगी हुन्छ । नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ । यस्तो शिक्षाले अरूको बारेमा ज्ञान तथा सूचना त प्रदान गर्छ नै तर शिक्षित व्यक्तिलाई व्यावहारिक तथा सिर्जनशील बनाउन सक्दैन । वास्तवमा यहाँका विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पढाइमा कुनै व्यवसाय रोज्न, खोज्न र टिकाउन सक्ने ज्ञान तथा सिपको कमी छ ।
कुनै पनि व्यक्तिले पढेका र सिकेका कुरालाई व्यवहारमा उतार्न सक्नु व्यावहारिक शिक्षाको विशेषता हो । यस्तो शिक्षाले कुनै पनि व्यक्तिलाई घर, खेतबारी, वनजङ्गल, जल, स्थल आदि क्षेत्रमा व्यावसायिक रूपमा काम गर्न सिकाउँछ । हालसम्म पनि यहाँका विद्यालयदेखि विश्वविद्यालयसम्म सैद्धान्तिक ज्ञान प्रदान गरिन्छ । त्यसैले विभिन्न घरायसी कामका लागि हामीले अरूको भर पर्नुपर्ने बाध्यता छ । नेपालमा पेसागत सिपमा आधारित ज्ञान तथा व्यावसायिक सिपमा आधारित शिक्षा प्रदान गरिएको भए यहाँ व्यावसायिक काम गर्न सक्षम जनशक्ति उत्पादन गर्न सकिन्थ्यो । यसबाहेक परम्परागत पेसालाई आवश्यकता अनुरूप आधुनिकीकरण गर्दै व्यावहारिक बनाउन सकेको भए यहाँको हिमाल, पहाड र तराईमा विभिन्न किसिमका उत्पादनका सम्भावनाका आधारमा आयआर्जनका स्रोतको खोजी गर्न सकिन्थ्यो ।
नेपालमा व्यावहारिक शिक्षाको कमीले गर्दा यहाँका शिक्षित युवाले स्वरोजगारका क्षेत्रहरू पहिचान गर्न सकेका छैनन् । रोजगारीका लागि उनीहरू बिदेसिन रुचाउँछन् । नेपालका पहाडी विद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न सकेको भए त्यहाँ पढेका विद्यार्थीले एकातिर उन्नत जातका गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा र माछापालन गर्न सक्षम हुने थिए भने अर्कोतिर फलफूल तथा पुष्प खेती गर्न सक्षम भई आयआर्जन गर्न सक्थे । यसै गरी उनीहरूले तराई क्षेत्रमा खाद्यान्न, तेलहन, फलफूल र अन्य कृषिजन्य वस्तुहरूको अधिकतम उत्पादनका लागि आधुनिक फार्म सञ्चालन गरी स्वदेशमै रोजगारी पाउने थिए । यहाँ व्यावहारिक शिक्षाको कमीले यस्तो हुन सकेको छैन ।
आज केही देश विकासको उत्कर्षमा पुगेर चन्द्रमामा मानव पठाउन र मङ्गल ग्रहलगायत अन्य अकासीय जीवको सम्भावनाबारे गहन अनुसन्धानमा संलग्न छन् । यति मात्र होइन, अमेरिकास्थित नासाको अभियानले अन्तर्राष्ट्रिय जगत्मा नै विशेष ध्यान आकृष्ट गरेको छ । नेपालमा भने यी कुराहरू एकादेशको कथा झैँ भएको छ । नेपाल एक कृषिप्रधान देश भए पनि खाद्यान्नका लागि विदेशमा भर पर्नु परेको छ । योबाहेक सागसब्जी, फलफूल र अन्य दैनिक सामग्रीका लागि पनि विदेशमा भर पर्नु परेको छ । कुनै पनि कृषिप्रधान देशमा पशुपालनले महìवपूर्ण भूमिका खेल्छ किनभने यसबाट एकातिर स्वास्थ्यबर्धक दुध, दही, मही र घिउ प्राप्त हुन्छ भने अर्कोतिर खेतीका लागि मलमूत्र पनि प्राप्त हुन्छ । यी चिजहरूका लागि विशेषतः भारत र अन्य देशमा निर्भर हुनु परेको छ । यहाँका शिक्षित व्यक्तिमा व्यावहारिक ज्ञान नहुनाले यस्तो भएको हो ।
विद्यमान शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान मात्र प्रदान गरेकाले व्यावहारिक बन्न सकेको छैन र शिक्षित बेरोजगारको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । यदि भविष्यमा यहाँको परनिर्भरता घटाउने हो भने शिक्षा व्यावहारिक हुनु पर्छ, जसका लागि आमूल परिवर्तन गर्नु पर्छ । जसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनु परेको छ । वास्तवमा समयको माग अनुसार स्वदेश तथा विदेशको श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो । व्यावहारिक शिक्षाले मात्र यस्तो आवश्यकता परिपूर्ति गर्न सक्ने कुरा विकसित देशको अनुभवबाट थाहा हुन्छ । कुनै पनि देशको कुनै पनि क्षेत्रमा कस्ता प्राविधिक कति चाहिन्छ भन्ने कुराको यकिन गर्न उपयुक्त योजना निर्माण गर्न नितान्त आवश्यक छ ।
माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको भविष्यको शैक्षिक यात्राको असर सम्बन्धित परिवार, समाज र सिङ्गो देशमा पर्न सक्छ । उनीहरूको भविष्य उज्ज्वल बनाउन गुणस्तरीय व्यावहारिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ । विगतमा नेपालमा साधारण शिक्षा मात्र प्रदान गर्ने प्रवृत्ति थियो । जसको कारण हाल यहाँ बेरोजगारीको समस्याले विकराल रूप लिएको छ । भविष्यमा यो समस्या बिस्तारै न्यूनीकरण गर्न सिपमूलक गुणस्तरीय व्यावहारिक शिक्षा वरदान साबित हुन सक्छ । वर्तमान परिवेशमा झन्डै ५५ लाख युवा रोजगारीको लागि बिदेसिएका छन् । उनीहरूमध्ये अधिकांश अदक्ष भएकाले विदेशमा कठोर परिश्रम गरे तापनि मनग्गे आयआर्जन गर्न सकेका छैनन् ।
देशको आवश्यकता परिपूर्तिका लागि मात्र नभई प्रत्येक वर्ष यहाँबाट ठुलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवाको आवश्यकता अनुरूप सिपमूलक व्यावहारिक तालिम प्रदान गर्न उनीहरूको आम्दानी वृद्धि भई विप्रेषण रकम पनि बढ्ने छ । यसबाट यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने छ । नेपालमा विसं २०१३ मा पञ्चवर्षीय योजना सुरु गरेदेखि नै शिक्षाको विकासमा विशेष जोड दिँदै आएको छ । यहाँको शिक्षा व्यावहारिक नभई प्रमाणपत्रमुखी भएको छ ।
यहाँका सरकारी तथा निजी विद्यालयमा परम्परागत शैलीको शिक्षा प्रदान गर्नाले यहाँका शिक्षित व्यक्तिबाट कुनै रचनात्मक काम हुन सकेको छैन । यस किसिमको शिक्षाले विभिन्न प्रकारका सैद्धान्तिक ज्ञान प्रदान गरे तापनि शिक्षित व्यक्तिलाई लगनशील एवं सिर्जनशील बनाउन सकेको छैन । यथार्थतः कुनै पनि देशको व्यावहारिक शिक्षामा त्यस देशको सत्तासीन राजनीतिक दलको शिक्षा नीतिले धेरै प्रभाव पर्छ । जुन कुरा विकसित देशहरूको अनुभवबाट प्रस्ट हुन्छ । नेपालमा राजनीतिक अस्थिरता हुनाले यहाँ उपयुक्त व्यावहारिक शिक्षाको विकास गर्न सकिएको छैन । परिणामतः यहाँको विभिन्न क्षेत्रमा आवश्यकता अनुसार विकास गर्न सकिएको छैन ।
शिक्षा प्रत्येक व्यक्तिको जीवनको आधार भए तापनि यो सैद्धान्तिक मात्र भयो भने जीवनोपयोगी हुन सक्दैन । यो कुरा नेपाललगायत विभिन्न विकासशील देशको पछौटेपनबाट बोध हुन्छ । वर्तमान आधुनिक समाजमा विभिन्न काम गरी जीविकोपार्जन गर्न व्यावहारिक शिक्षाको आवश्यकता पर्छ । यस्तो शिक्षा प्राविधिक शिक्षा मात्र होइन । यसले एकतर्फ प्रत्येक व्यक्तिलाई अनुशासित भई समूहमा काम गर्ने सिप सिकाउँछ भने अर्कोतर्फ नेतृत्व एवं निर्णय लिने क्षमताको पनि विकास गर्छ । यसबाहेक यसले समय व्यवस्थापन गरी विभिन्न किसिमका समस्या समाधान गर्ने तरिका पनि सिकाउँछ ।
विश्वका विकसित देश र खास गरी संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया र जापानमा सैद्धान्तिकका साथै व्यावहारिक शिक्षामा विशेष जोड दिनाले यी देशहरूका शिक्षित व्यक्ति मानसिक रूपमा स्वस्थ र सामाजिक रूपमा व्यावहारिक छन् । यिनीहरू विभिन्न किसिमका समस्या समाधान गर्न सक्षम भई आआफ्ना देशको चौतर्फी विकासमा सव्रिmय रूपले आबद्ध छन् । यी देशहरूमा विद्यमान शिक्षाबाट नेपालले व्यावहारिक शिक्षाको उपादेयता तथा आवश्यकता महसुस गर्न नितान्त आवश्यक छ ।
नेपालमा व्यावहारिक शिक्षाको विकासका लागि यहाँको शिक्षा तथा खेलकुद मन्त्रालयले केही प्रयास गरे पनि सफल हुन सकेका छैनन् । वास्तवमा यहाँका विद्यालयका पाठ्यक्रममा केही विषय थप्दैमा यहाँको शिक्षा व्यावहारिक बनाउन सकिँदैन । यसका लागि आगामी दिनमा एकातिर सरकारका शैक्षिक नीति व्यावहारिक बनाउन आवश्यक छ भने अर्कोतिर शिक्षक तथा अभिभावकको सोचमा परिवर्तन ल्याई यहाँ आवश्यक व्यावहारिक ज्ञान तथा सिप प्रवर्धन गर्न धेरै जरुरी छ । भविष्यमा पनि नेपालमा सैद्धान्तिक शिक्षा मात्र दिने हो भने यहाँ बेरोजगारीलगायत विभिन्न समस्या विद्यमान हुने छन् । आगामी दिनमा यहाँ व्यावहारिक शिक्षाको विकास गरेमा यहाँका शिक्षित व्यक्ति अनुशासित, सिर्जनशील, विकासप्रेमी र देशप्रेमी हुने छन् । परिणामतः यहाँको सम्रग विकासमा उनीहरूको योगदान उल्लेखनीय हुने छ ।