• १३ साउन २०८१, आइतबार

महोत्तरीमा त्रिपक्षीय प्रतिस्पर्धा

blog

महोत्तरी समाचारदाता 

महोत्तरी, असोज ३१ गते । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा महोत्तरीको सबै निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। आगामी मङ्सिर ४ गते हुने जिल्लाका चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन, एमाले–जसपाको गठबन्धन र स्वतन्त्रबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

चारवटै क्षेत्रमा प्रतिनिधि सभामा यसअघि उठेकाहरू नै दोहोरिएका छन्। जिल्लाको क्षेत्र नं. १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विगतमा विजयी पूर्वमन्त्री गिरिराजमणि पोखरेलसँगै नेकपा एमाले गठबन्धनका लक्ष्मी महतो र स्वतन्त्रबीच प्रतिस्पर्धा देखिएको छ। २०७४ को निर्वाचनमा पूर्वमन्त्री पोखरेलले महतोलाई हराउँदै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। यातायात कार्यालयको प्रमुखबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका पोषण थापा पनि चुनावी मैदानमा हुनुहुन्छ। 

क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको छ। उहाँसँगै एमाले गठबन्धनका रामपरीक्षण यादव र तमलोपाका विजयकुमार सिंहबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। क्षेत्र २ को (क)मा लोसपाका जयनुल राइन, जसपाका धर्मेन्द्रकुमार साह तेली र नेकपा एसका मन्जुकुमारी यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ। (ख)मा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष नागेश्वर यादव, लोसपा परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएकी सुरीता साहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

जिल्लाको मुख्य केन्द्र मानिएको क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका हरिनारायण यादव र एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका रामआधार कापरबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७४ को निर्वाचनमा पनि महन्थ ठाकुरका लागि कांग्रेसले उम्मेदवारी फिर्ता लिएको थियो भने यसपालि ठाकुर कांग्रेससहितको सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्छ। यस क्षेत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले पनि उम्मेदवारी दिनुभएको छ। यस क्षेत्रमा कुनै पनि उम्मेदवारले दोहोरिएर जितेका छैनन्। 

क्षेत्र नं. ३ को (क)मा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका लोसपाका अभिराम शर्मा, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर जसपाबाट उम्मेदवार बन्नुभएका दीपेन्द्र झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। ३ (ख)मा एमालेका उम्मेदवार रामदयाल मण्डल, लोसपाका रानी शर्मा तिवारी र स्वतन्त्र उम्मेदवार इन्जिनियर उज्ज्वल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ जसपाका डा. सुरेन्द्र यादव, कांग्रेसका महेन्द्रकुमार रायबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। यस क्षेत्रको (क)मा लोसपाका कौशलकुमार यादव, जसपाका सरोजकुमार यादवबीच प्रतिस्पर्धा छ भने (ख)मा माओवादी केन्द्रका लालेन्द्र मण्डल, जसपाका सरोजकुमार सिंहबीच प्रतिस्पर्धा हुँदै छ।