• २० असोज २०८१, आइतबार

एम्बुलेन्स जान छैन सडक

blog

परासी समाचारदाता 

नवलपरासी, असोज ३१ गते ।  पश्चिमनवलपरासी प्रतापुर गाउँपालिका पञ्चपेडा गाउँसम्म सडक पुग्न नसक्दा अत्यावश्यक सेवाका रूपमा रहेको एम्बुलेन्स पनि जान नसक्ने स्थिति छ। 

पञ्चपेडा गाउँसम्म पुग्नका लागि खजुरा खोलामा वर्षौदेखि  सडक र पुल जीर्ण हुँदा एम्बुलेन्सजस्तो अत्यावश्यक सेवा सञ्चालन हुन नसकेको हो। सो सेवा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्। 

स्थानीय ओमनाथ केवटले भन्नुभयो, वर्षौँ पहिला बनेको सानो पुल र पुलको वरपरको बाटोसमेत पानीले बगाए पछि अहिले पञ्चपेडा गाउँ जाने बाटो बिग्रेको छ। गाउँमा रातबिरात बिरामी परेको व्यक्तिलाई स्वास्थ्य संस्थामा पु¥याउन पनि नसकिने अवस्था आएको छ।

पञ्चपेडा गाउँ मात्र होइन, पश्चिमनवलपरासीका दक्षिणी भेगका प्रतापपुर, पाल्हिनन्दन सुस्ता गाउँपालिकाका अधिकांश बस्तीमा सडक पुग्न नसक्दा यहाँका बासिन्दाले दैनिक जीवनका लागि चाहिने सामानहरू समेत ढुवानी गर्न गाह्रो भइरहेको छ। यहाँका दर्जनौँ सडकहरू हिउँदमा चले पनि बर्खाका बेला भत्किँदा यहाँका बस्तीहरू यातायात सेवाबाट विमुख भएका छन्। 

स्थानीयवासीले सङ्घ, प्रदेश र स्थानीय तहका राजनीतिक दलका नेता एवं जनप्रतिनिधिलाई धेरै पटक यहाँका समस्याबारे अवगत गराए पनि समाधानका लागि खासै पहल हुन नसकेको स्थानीय ललन केवटले बताउनुभयो।

यसअघिका निर्वाचनमा नेताहरू मत माग्न गाउँमा पुग्दा सबै समस्या पूरा गरिदिने सपना बाँड्ने गरेका छन्। आसन्न निर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेताहरू गाउँमा आउन थालेका छन्, फेरि गाउँमा सपना बाँड्न थालेको स्थानीय बासिन्दाले गुनासो व्यक्त गरेका छन्। 

बाटोघाटो पुगेको ठाउँमा पनि साँघुरो बाटो छ। साँघुरो बाटो पनि ठाउँ–ठाउँमा बिग्रिएको, भत्किएको छ। बाटोघाटोको मर्मतसम्भार गर्नेतर्फ कसैले सोचेका छैनन्, पञ्चपेडाका हरिहर केवटले बताउनुभयो।