• ४ जेठ २०८१, शुक्रबार

ब्याजदर नियन्त्रण गर्न माग

blog

लक्ष्मण पौडेल 

भैरहवा, असोज ३१ गते । उद्योगी व्यवसायीले बैङ्कको चर्काे ब्याजदरले उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन् । उद्योग व्यापार सङ्गठन, रुपन्देहीको १५औँ वार्षिक साधारण सभामा उहाँहरूले चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीको अवस्था दयनीय भएको बताउनुभयो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “बैङ्क धनी हुने र उद्योग व्यवसाय धराशायी हुने परिस्थिति हुनु गलत हो, उद्योग व्यवसाय नफस्टाए बैङ्क पनि फस्टाउन सक्दैनन् ।” 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय प्रशासन निजी क्षेत्रको साथमा रहेको बताउँदै खुल्ला सीमाका कारण हुन सक्ने अवैध कारोबार नियन्त्रण गर्न लागिपरेको बताउनुभयो । 

नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले उद्योग व्यवसाय टिक्ने वातावरण बनाउनुपर्ने माग गर्नुभयो । उहाँले बैङ्क ब्याजदर निरन्तर वृद्धि हुँदा उद्योगी व्यवसायी सङ्कटमा परेको गुनासो गर्नुभयो ।

नेपाल राष्ट्र बैङ्क, सिद्धार्थनगरकी निर्देशक रञ्जना पौडेल पण्डितले आयात बढ्दै गएकाले व्यापार घाटा बढेको बताउनुभयो । “जुन उद्देश्यका लागि बैङ्कबाट ऋण लिनुभएको छ, सोही उद्देश्यमा प्रयोग नभए समस्या उत्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।

उद्योग व्यापार सङ्गठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण उद्योग व्यवसायमा ठूलो नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । उहाँले बैङ्कले कर्जाको ब्याजदर ८ प्रतिशतबाट १६ प्रतिशत पु¥याएकाले उद्योगी व्यवसायी मारमा परेको गुनासो गर्नुभयो ।