• २० असोज २०८१, आइतबार

फुल कन्ट्याक्ट करातेमा गण्डकी र आर्मीलाई तीन तीन स्वर्ण

blog

फुल कन्ट्याक्ट करातेमा पदक विजेता खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज ३० गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी र नेपाल आर्मीले समान तीन तीन स्वर्ण जितेका छन् ।

शनिबार राति सकिएको खेलमा करातेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको हो । 

यस्तै नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जित्नुभयो । 

उहाँले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जित्नुभएको हो । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बन्नुभएको थियो । नेपालीले रजत पदकमा चित्त बुझाउनुभयो । 

पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जित्नुभएको छ । उहाँले गण्डकीका शिव भुजेललाई पराजित गर्नुभयो । 

भुजेलले रजत पदक जित्नुभयो। पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जित्नुभयो । 

पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण, आर्मीका चोकबहादुर बुढाथोकीले रजत जित्नुभयो ।  ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले स्वर्ण र बागमतीका विजय राईले रजत जित्नुभयो । 

४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण, आर्मीका राजकुमार यादवले रजत, ३५—४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले स्वर्ण र आर्मीका सागर थिङले रजत जित्नुभयो । 

यसैगरी महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण र बागमती प्रदेशकी निशा बोहोराले रजत जित्नुभयो । ५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्ननुभयो । चन्दले रजत पदकमा चित्त बुझाउनुभयो । 

 ४५—५० केजी तौल समूहमा बागमती प्रदेशकी नवीना धमालले स्वर्ण, सशस्त्र प्रहरीकी करिष्मा कार्कीले रजत, ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले स्वर्ण र नेपाल प्रहरीकी अञ्जना ढुङ्गेलले रजत जित्नुभयो । 

यस्तै ३५—४० तौलमा केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताउनुभयो । 

पोखराको प्रदर्शनी केन्द्रमा भएको फुल कन्ट्याक्ट करातेमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिस्पर्धा गराइएको थियो ।