• १३ साउन २०८१, आइतबार

खेतखेतमा उम्मेदवार

blog

धनगढी समाचारदाता

धनगढी, असोज ३० गते । कैलालीमा चुनावी चहलपहल बढ्न थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तापछि चुनावी चहलपहल बढ्न थालेको हो ।  

उम्मेदवारी दर्तालगत्तै राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा केन्द्रित भएका छन् । भोट माग्दै दलका नेता, कार्यकर्ता गाउँमा पस्न थालेका छन् । यसैगरी मतदाता रिझाउनका लागि उनीहरू जनतालाई खेतको काममा पनि सघाउन थालेका छन् । 

अहिले धान काट्ने याम भएका कारण किसान खेतमै रहेकाले भेटघाटका लागि खेतमै पुगिरहेको नेकपा (माओवादी) केन्द्रका रमेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । “जनता खेतमै रहेकाले उहाँहरूलाई भेटघाट गर्दै हामीले सहयोग पनि गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यो भोट मात्रै माग्ने मेसो होइन । हामी पनि खेती किसानी गरेकाले सहयोग गरिरहेका छौँ ।” गठबन्धन उम्मेदवारलाई भोट माग्दै सो पार्टीका कार्यकर्ताले धनगढी उपमहानगरपालिका–१५ स्थित उर्मा गाउँमा किसानको खेतमा धान काट्दै भोट माग्ने कार्य गरेका छन् । 

उर्मा गाउँ निर्वाचन क्षेत्र नम्बर ५ मा पर्दछ । यो क्षेत्रमा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराज पन्त उम्मेदवार हुनुहुन्छ । यस्तै प्रदेशतर्फ (क)मा माओवादी केन्द्रका रमेश धामी र (ख)मा नेपाली कांग्रेसका प्रकाश देउवा उम्मेदवार हुनुहुन्छ । 

२०७० को निर्वाचनमा प्रदेश (ख)मा एकअर्काका प्रतिद्वन्द्वी डिल्लीराज पन्त र माओवादी केन्द्रका धामी अहिले सहयात्री भएर एक अर्कालाई भोट मागिरहनुभएको छ । अघिल्लो निर्वाचनमा धामीलाई पराजित गरेर पन्त प्रदेश सभा सदस्यमा विजयी हुनुभएको थियो । 

मतदाता रिझाउनकै लागि गठबन्धनका तर्फबाट प्रदेश (ख)का उम्मेदवार प्रकाश देउवाले सरसफाइ अभियान सञ्चालन गरिरहनुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रको सडकमा प्लास्टिक, गुट्खाका खोललगायतका फोहोर सरसफाइ गर्नुभएको थियो । प्रदेश (ख)मा नेपाली कांग्रेसकै क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनकै उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएको भण्डारीले धनगढी बजार क्षेत्रमा प्रचारप्रसार कार्यलाई अघि बढाउनुभएको छ । 

अन्य राजनीतिक दलले पनि प्रचारप्रसार कार्यलाई अघि बढाएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाटै प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक उम्मेदवार हुनुभएका नेकपा (एमाले)का नारदमुनि राना पनि आफ्नो चुनावी अभियानलाई अघि बढाइरहनुभएको छ । उहाँले यसअघि पनि सोही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो ।

कैलालीको अन्य क्षेत्रमा साना ठूला सबै दलले चुनावी गतिविधिलाई अघि बढाइरहेका छन् । दलहरू टोल, बस्ती भेला गरेर मतदाता भेटघाट गर्नुका साथै खेतमै गएर भोट माग्ने कार्य गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीले पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी गतिविधिलाई अघि बढाएको छ । 

प्रचारप्रसारमा कार्यकर्ता परिचालन, मतदाता भेटघाटलगायतका कार्य भइरहेका क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गङ्गा चौधरीले जानकारी दिनुभयो । यसअघि सङ्गठन विस्तारलाई प्राथमिकता दिएको नागरिक उन्मुक्ति पार्टी अब प्रचारप्रसारमा केन्द्रित भएको जनाइएको छ । 

कैलाली क्षेत्र नम्बर ३ बाटै लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा बाजी मार्ने दाउमा रहनुभएका नेकपा (एमाले)का उम्मेदवार गौरीशङ्कर चौधरी पनि प्रचारप्रसारमा खट्न थाल्नुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट अघिल्लो निर्वाचन जित्नुभएका चौधरी यस पटक दल बदलेर चुनाव लडिरहनुभएको छ । उम्मेदवार र दलहरूले प्रत्यक्ष रूपमा मतदाता भेटेर भोट माग्नुका साथै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने कार्यलाई तीव्रता दिएका छन् ।