• ११ असोज २०८१, शुक्रबार

हात्तीको भारी बोकाले बोक्न सक्दैन : नेता सिटौला

blog

लिलाराज खड्का

बिर्तामोड, असोज २९ गते । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले अघिल्लो निर्वाचनमा आफू पराजित हुँदा यस क्षेत्रमा विकास निर्माण लगायताको काम हुन नसकेको बताउनुभएको छ । 

झापा ३ को भद्रपुरमा शनिबार आयोजित सत्ता गठबन्धन निकट बुद्धिजीवीको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन खोज्दा विकास निर्माणको काममा विलम्ब भएको दाबी गर्नुभएको हो ।

नेता सिटौलाले आफूले दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएपछि सुरु गरेर सम्पन्न भएका दर्जन बढी आयोजना देखाएर मतदाता झुक्क्याउने काम राप्रपा उम्मेदवारले गरेको टिप्पणी गर्नुभयो । राप्रपा उम्मेदवारले विजयी भएर ५ वर्षे अवधिमा झापा ३ मा विकासका लागि  सिन्को नभाँचेको उहाँको आरोप छ । 

पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले झापा ३ मा  आफ्नो  प्रतिस्पर्धामा एमाले  नभएकोले  एमाले नेतृत्वले राजतन्त्रवादीलाई सहयोग गर्न नहुने बताउनुभयो । नेता सिटौलाले  पार्टीको आदर्श र सिद्धान्त नमिल्ने राप्रपालाई एमाले कार्यकर्ताले बोक्न नहुने उहाँले बताउनुभयो । 

देशका लागि आफूले तत्कालीन विद्रोही माओवादीसँग बाह्र बुँदे सहमति गर्न गरेको प्रयास, शान्ति प्रक्रियामा माओवादी आन्दोलनलाई ल्याएको र संविधान निर्माणसम्म महत्त्वपूर्ण भूमिका आफूले खेलेको उहाँको भनाइ छ । सहिदको रगत बगाउन निरन्तर दमनमा रहेको राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती एमालेले गरिरहेको उहाँले आरोप लगाउनुभयो । 

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार भूमिप्रसाद राजवंशी तथा पूर्णप्रसादसिंह राजवंशीले विगतमा एक पटक राजावादीलाई मत हाल्ने काम व्यवस्था विरोधी काम भए पनि यस पटक झापा ३ का मतदाताले सङ्घीयतासहित गणतन्त्रको रक्षाका लागि गठबन्धनको पक्षमा मत हाल्नु पर्ने बताउनुभयो ।