• १३ साउन २०८१, आइतबार

मिथ्या समाचार रोक्न जरुरी

blog

महोत्तरी समाचारदाता

महोत्तरी, असोज २९ गते । महोत्तरी जिल्लाका युवा तथा नागरिक समाजका अगुवाहरूले निर्वाचनको समयमा मिथ्या सूचना रोक्न सरोकारवाला निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

जलेश्वरमा ‘एकाउन्टाविलिटी ल्याब’ले आयोजना गरेको एक कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले मिथ्या तथा भ्रामक सूचना एवं समाचारले मतदाता प्रभावित हुने गरेकोले यस्तो सूचना रोक्न सबैले सामुहिक पहल गर्नुपर्नेमा जोड दिएका हुन्। शान्ति तथा विकासका लागि युवा सञ्जालका अध्यक्ष मो. रेजा अन्सारीले मिथ्या तथा भ्रामक सूचना एवं समाचार रोक्न आफूहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “निष्पक्ष, खुला र सुरक्षित निर्वाचनका लागि नागरिक समाजका प्रतिनिधिहरूको भूमिकालाई आत्मसात् गर्न आवश्यक पहल गर्छौं।”

महिला सञ्जाल महोत्तरीका प्रतिनिधि सुनिता झाले सामाजिक सञ्जालमार्फत धेरै मिथ्या सूचना र समाचारहरू बाहिरिने गर्दा यसले मतदाताहरूलाई प्रभावित बनाइरहेकोले सरोकारवालाहरूले मिथ्या सूचना रोकी सत्यतथ्य प्रवाहित गर्न जरुरी रहेको तर्क गर्नुभयो। उम्मेदवारहरूको वास्तविक जानकारी सर्वसाधारणमा पु-याउँदा मतदाताहरूले पनि मिथ्या सूचनाविरुद्ध बोल्ने र विचार पु¥याउने उहाँको भनाइ थियो। 

नागरिक समाजका राकेशप्रसाद चौधरीले निर्वाचनको बेला मात्र नभई वर्षभरि नै मिडियामार्फत मतदाता शिक्षाको प्रचारप्रसार आवश्यक रहेको बताउँदै स्थानीय रेडियो र पत्रपत्रिकाहरूलाई यसको जिम्मेवारी दिँदा बदर मत घटाउन सकिने र मिथ्या समाचार प्रवाहमा कमी आउने बताउनुभयो।

सोही कार्यक्रममा प्रगतिशील युवा क्लबकी प्रतिनिधि कामनी चौधरीले उम्मेदवारहरू आएर मलाई भोट दिनुस् भन्ने तर आफ्नो व्यक्तिगत विवरण लुकाएर राख्ने गरेको कारण मिथ्या समाचार प्रवाह बढी हुने गरेको बताउनुभयो।  आमसञ्चार माध्यमबाट हुने भ्रामक तथा मिथ्या सूचनाको अनुगमन गरी सोही दिन सचेत वा कारबाहीको लागि सम्बन्धित निकायले पहल गरेमा यसलाई रोक्न सकिने विश्वास अधिकांश वक्ताले गरेका छन्। सञ्चारकर्मी गोपाल झाले गलत सूचनामा यो गलत सूचना हो भन्ने टिप्पणी नभएसम्म भ्रामक सूचना फैलाउनेहरूको मनोबल कम गर्न नसकिने बताउनुहुन्छ।