• ११ असोज २०८१, शुक्रबार

विदेशबाट फर्केको पाँच वर्ष

न घर न माइतीको सम्पर्क

blog

नवराज कट्टेल

विराटनगर, असोज २९ गते । विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गीता गिरी विदेशबाट नेपाल फर्केको पाँच वर्ष बित्यो तर अहिलेसम्म घर र माइतीसँग सम्पर्क छैन। 

आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ। सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिरी नेपाल फर्केपछि पुनः विदेश गएको विवरण अध्यागमनमा भेटिंदैन। 

विदेशबाट फर्केर पनि घर र माइतको सम्पर्कमा नआएपछि विराटनगर र इटहरीका दुई घरपरिवारको सम्बन्ध एकअर्कालाई शङ्का गर्ने तहमा पुगेको छ। दुवै परिवारसँगको सम्पर्कमा नहुँदा वैवाहिक नाताबाट गाँसिएको सम्बन्ध बिग्रिएको छ। 

गीताकी आमा दुर्गादेवी पुरीले छोरीको बारेमा ज्वाइँलाई थाहा हुनुपर्ने बताउनुभयो। गीताका श्रीमान् महेन्द्र गिरी विदेश गएको डेढ वर्षपछिदेखि आफ्नो सम्पर्कमा नभएकोले माइतीलाई थाहा हुनुपर्ने बताउनुहुन्छ। 

विराटनगरमा यी दुवै परिवारले पत्रकार सम्मेलन गरेर गीताको खोजखबरका लागि सबैसँग आग्रह गरेका छन्। दुवै परिवारको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा गीताप्रति केही शङ्का र अड्कलसमेत काटिएको छ। विदेशमा हुँदैदेखि दुवै परिवारको सम्पर्कमा नआएको कुराले नेपाल फर्केपछि अन्तै घरजम गरेको हुनसक्ने संभावना दुवै परिवारका सदस्यले औँल्याए। 

आमा विदेश जाँदा सात वर्ष उमेर पुगेका छोरा माधव गिरीले नेपालको ‘जुनसुकै कुनामा, जस्तोसुकै परिस्थितिमा’ भए पनि एक पटक खबर गर्न आमासँग आग्रह गर्नुभयो। “म सानो थिएँ, मम्मी विदेश जानुभयो, अहिले १५ वर्षको पुगेर कक्षा ९ मा पढ्दैछु,” माधवले भन्नुभयो। नेपाल फर्केर पनि घर र मावलको सम्पर्कमा नआउँदा साह्रै पीडा झेल्नु परेको छ। माधवले नेपाल फर्केर पनि नसम्झेकोमा दुःख व्यक्त गर्नुभयो। 

गीता विदेश गएपछि श्रीमान् महेन्द्रसँग डेढ वर्षसम्म सम्पर्क थियो। माइतीमा पनि त्यही अवधिसम्म सम्पर्क भए पनि नेपाल फर्कने कुरा कसैलाई थाहा थिएन। श्रीमती विदेश गएको दुई वर्षपछि श्रीमान् पनि मलेसिया जानु परेपछि तत्काल खोजखबर गर्ने वातावरण नबनेको बताइन्छ। लामो समय बसेर चार महिना अगाडि घर फर्कनु भएका महेन्द्रले त्यसपछि श्रीमतीको खोजखबर सुरु गर्नुभएको हो। यसबीचमा घरतर्फका परिवारले माइतीलाई र माइती पक्षकाले घरका परिवारलाई शङ्का र उपशङ्का गर्दै बितेको छ। 

अहिले दुवै परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा हुलिया खुलाएर निवेदन दिएका छन्। गत असोज ७ गते श्रीमान्ले दिएको निवेदनका आधारमा अध्यागमनसम्म पुगेर बुझ्दा मात्रै गीता विदेश गएको दुई वर्षमा नेपाल फर्केको पाइएको थियो।