• २२ वैशाख २०८१, शनिबार

नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटनका अवसरमा मार्चपास र सांस्कृतिक कार्यक्रम

blog

पोखरा, असोज २८ गते। पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ। ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सात वटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी छन्।

उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ।

उद्घाटन समारोहमा सात वटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ। मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी छ। यस क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ। रङ्गशालाका प्यारापिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति छ।

समारोहमा मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गर्नुभएको छ। झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छेलाई रेखाङ्कित गरिएको छ। कार्यक्रममा मन्त्री गहतराजले खेलकुदको विकासका लागि तीन वटै तहका सरकार लाग्नुपर्ने बताउनुभयो। खेलकुदको गुरुयोजनालगायतका कार्यक्रमअघि बढाइएको उहाँले बताउनुभयो। केन्द्रदेखि स्थानीय तहसम्म खेलसम्बद्ध निकाय खेलको विकासका लागि लागेको उहाँले बताउनुभयो। सङ्घीय संरचनाअनुसार सबै प्रदेशले आफ्नो तयारीसहित पहिलोपटक यस प्रतियोगितामा सहभागी भएको उहाँले जानकारी दिनुभयो। प्रतियोगितासँगै आगामी दिनमा खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रियता प्रतिस्पर्धा गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद गण्डकीमा हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताउनुभयो। गण्डकी प्रदेशमा खेलपर्यटनका पर्याप्त सम्भावना रहेको उहाँको भनाइ थियो। खेलका माध्यमबाट अन्तर्राष्ट्रिय एवं राष्ट्रियरूपमा एकता कायम गर्ने उहाँले बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताउनुभयो। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्त्वपूर्ण स्थान रहने बताउनुभयो। कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन्। कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ।

प्रतियोगितामा करिब एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो। विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो। 

छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ। गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन्। उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशील गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित शपथ लिनुभएको थियो। रङ्गशालामा विभिन्न सांस्कृतिक प्रदर्शनी सञ्चालन भइरहेका छन्। रासस