• ७ मंसिर २०८१, शुक्रबार

रक्सौल–काठमाडौं रेलमार्ग डीपीआर ६ महिनामा तयार हुने

blog

विष्णु पाण्डेय

काठमाडौं, असोज २७ गते । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अध्ययन (डीपीआर) निर्माण ६ महिनाभित्र सक्नेगरी काम भइरहेको छ । रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार यस परियोजनाको डीपीआर अबको ६ महिनाभित्र सकिनेछ । 

भारतले प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्टअनुसार यस आयोजनाको कुल लम्बाइ १३६ किलोमिटर  छ । तर डीपीआर तयार भएपछि मात्र यसको वास्तविक लम्बाइ थाहा हुने चित्रकार बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यस आयोजनाको प्रारम्भिक सर्वेक्षणमा १३६ किलोमिटर लम्बाइ हुने उल्लेख छ । तर डीपीआर निर्माणकै क्रममा रहेकाले चार पाँच किलोमिटर तलमाथि हुनसक्छ ।’ 

यस आयोजनाको प्रारम्भिक सर्वेक्षणमा १३६ किलोमिटर लम्बाइ हुने उल्लेख छ । तर डीपीआर निर्माणकै क्रममा रहेकाले चार पाँच किलोमिटर तलमाथि हुनसक्छ ।

भारतीय कम्पनीले डीपीआर तयार गरेपश्चात कुन भाग आवश्यक पर्ने र कति मुआब्जा दिने भन्ने कुरा पछि टुङ्गो लाग्ने उहाँले बताउनुभयो । नेपाल र भारत सरकारबीच सन् २०२१ अक्टोबरमा १८ महिनामा विस्तृत अध्ययनअनुसार डीपीआर सक्ने भनेर भारतीय कम्पनीलाई डीपीआर तयार गर्न आग्रह गरिएको थियो । 

बीचमा कोभिड १९ कोे लहरले काम गर्न समस्या थियो । सुरुमा केही समस्या भए पनि पछि काम सहज रुपमा सुचारु गर्न पाएका कारण अबको ६ महिनाभित्र डीपीआरको प्रतिवेदन सकिने उहाँले बताउनुभयो ।

भारतीय सरकार अन्तर्गतको कोङ्कण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल) लाई  डिजाइनको जिम्मा दिइएको छ । जुन कम्पनीले भारतको सिक्किमलगायतका क्षेत्रमा पनि रेलमार्गको विषयमा अध्ययन गरेको थियो ।

चित्रकारले भन्नुभयो, ‘केआरसीएलले भारतको सिक्किमलगायतका अन्य क्षेत्रमा रेलमार्गको अध्ययन गरिसकेको छ । नेपालको सन्दर्भमा पनि भौगोलिक अवस्था उस्तै भएका कारण यो कम्पनीले राम्रो अध्ययन गर्न सक्ने अपेक्षा गरिएको छ ।’ 

निजगढ विमानस्थल पनि जोड्ने चाहना 

रक्सौल काठमाडौं रेलमार्ग निर्माणको क्रममा अब निजगढ विमानस्थललाई पनि समेटेर निर्माण गर्ने योजना रहेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताउनुभयो । पहिले निजगढ विमानस्थलको निर्माण सोही क्षेत्रमा बन्ने कि नबन्ने भन्ने विवाद थियो अब त्यही स्थानमा बन्ने भएपछि यसलाई पनि समेटेर लग्ने प्रक्रियामा छौँ, उहाँले भन्नुभयो । 

रक्सौल काठमाडौं रेलमार्ग निर्माणको क्रममा अब निजगढ विमानस्थललाई पनि समेटेर निर्माण गर्ने योजना रहेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताउनुभयो ।

विमानस्थल बनेपछि धेरै मानिसहरू रेलबाट विमान चढ्न निजगढ पुग्न सक्ने आधार यस रेलमार्गले खडा गर्ने उहाँको विश्वास छ । यस्तै, तराई काठमाडौं जोड्ने द्रुतमार्ग र यस रेलमार्गको केही समानान्तर ठाउँहरू रहेकाले ती क्षेत्रमा सुरुङ मार्गबाट दुबैलाई निर्माण गर्ने कि भन्ने विषयमा समेत अध्ययन हुने चित्रकारले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।