• १३ साउन २०८१, आइतबार

कैलाली–१ मा चौधरी, रावल र श्रेष्ठको उम्मेदवारी दर्ता

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, असोज २३ गते । कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक प्रत्यक्ष र एक पटक समानुपातिकबाट गरी पाँच पटक प्रतिनिधि सभामा पुग्नुभएका र चार पटक मन्त्री बनिसक्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

२०४८ सालदेखि निरन्तर संसदमा रहनुभएका चौधरी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ मा गठबन्धनका उम्मेदवार गौरीशङ्कर चौधरीसँग पराजित हुनुभएको थियो । यस पटक क्षेत्र परिवर्तन गरी कैलाली –१ मा कांग्रेस–माओवादी केन्द्रको साझा उम्मेदवार बन्नुभएको छ । नेता चौधरी काठमाडौंमा रहनुभएको र वर्षातका कारण जहाज उडान हुन नसकेपछि आफू वारेस भएर उम्मेदवारी दर्ता गरेको कांग्रेसका क्षेत्रीय सभापति प्रकाश शाहले बताउनुभयो । 

यसअघि तत्कालीन राजपाका उम्मेदवार रेशमलाल चौधरी विजयी भएको यस क्षेत्रमा यस पटक नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको उम्मेदवारी परेको छ । कांग्रेसले पूर्वमन्त्री तथा कांगे्रसका केन्द्रीय सदस्य चौधरी, नागरिक उन्मुक्तिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाएपछि नेकपा (एमाले) ले पनि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा पार्टीका प्रदेश सदस्य तपेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पाएको मत र २०७९ को स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा नागरिक उन्मुक्ति पार्टी आफ्ना उम्मेदवार विजयी हुने दावी गरेको छ । स्थानीय तहको निर्वाचनमा भएको गठवन्धनको मत नागरिक उन्मुक्तिको प्रतिस्पर्धामा रहेको र अहिले काँग्रेसले हेवीवेट नेता रामजनम चौधरीलाई उम्मेदवार बनाएकाले कांग्रेस विजयी हुने दावी गरेको छ । 

नेकपा (एमाले) भने कांग्रेस उम्मेदवारका लागि नयाँ निर्वाचन क्षेत्र भएको र नागरिक उन्मुक्तिका उम्मेदवारमा राजनीतिक अनुभव नभएका कारण यसअघि टीकापुरको नगर प्रमुख भैसकेकाले एमाले उम्मेदवार पनि जितका लागि प्रतिस्पर्धी भएको सो दलको दावी छ ।

प्रदेश सभामा मन्त्री रावलको उम्मेदवारी

कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (२) को निर्वाचनलाई पनि महत्वका साथ हेरिएको छ । यहाँ सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । डा. रावलले अघिल्लो चुनावका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सङ्गठन विभाग प्रमुख लक्ष्मणकिशोर चौरीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नेकपा (एमाले) ले युवा नेता द्वारिकाप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभा १ मा कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दीर्घराज विनाडीको उम्मेदवारी परेको छ । नेकपा (एमाले) र जनता समाजवादीबाट समाजवादीका भगतराम थारुको उम्मेदवारी परेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलाश चौधरीलाई उम्मेदवार बनाएको छ । कृष्णकुमार चौधरीले यसपटक लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।