• ९ मंसिर २०८१, आइतबार

गृहमन्त्री खाणद्वारा रुपन्देही–३ मा मनोनयन दर्ता

blog

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा गृहमन्त्री बालकृष्ण खाणको मनोनयन दर्ता । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे
लुम्बिनी, असोज २३ गते । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ ।

सदरमुकाम भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना समर्थकसहित पुगेर खाणले मनोनयन दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावमा नेपाली कांग्रेस सुुद्धधोधन गाउँपालिका सभापति दामोदर पौडेल, क्षेत्रीय सभापति सुशील गुुरुङ्ग समर्थक तथा सिद्धार्थ नगरसभापति कोशीसबहादुर खड्का हुनुहुन्छ । 

सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको तर्फबाट उहाँले साझा उम्मेदवारको रुममा मनोनयन दर्ता गर्नुभएको हो ।

यसैगरी, क्षेत्र नम्बर ३ (क) बाट लोसपाका सन्तोषकुमार पाण्डेय र (ख) बाट कांग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

विसं. २०७४ मा यस क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा भएको थियो । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार रहनुभएको थियो । बोहरालाई कांग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गर्नुभएको थियो । अहिले कांग्रेस नेता खाण र राप्रपा नेता बोहोराबीच प्रतिस्पर्धा हुने भएको छ । बोहोराले एमाले, जसपाको गठबन्धनबाट प्रतिनिधि सभाको लागि मनोनयन दर्ता गराउनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस पहिलो र एमाले दोस्रो बनेका छन् ।

उम्मेदवारी दर्तापछि कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाणले आन्तरिक लोकतन्त्र, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।