• १३ साउन २०८१, आइतबार

यातायात र हवाई उडान नहुँदा पर्यटकलाई सास्ती

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज २१ गते । पछिल्लो चार दिनदेखि लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा पनि वर्षाले गर्दा ठाउँ ठाउँमा पहिरो गएको छ । 

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी पहिरोले सडक सञ्जालमा क्षति पुगेको हो ।  

अविरल वर्षाले सडकमा ढुङ्गा, लेदोमाटो र गेगरसहितको भलबाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वर्षा र बाढी पहिरोकै कारण सडक यातायात ठप्प हुनुकासाथै हवाई उडान बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । 

प्रजिअ शर्माले मुस्ताङको मार्फास्थित फाराम खोलामा आएको बाढीले शीतोष्ण बागवानी विकास केन्द्र आसपासको क्षेत्रमा भलबाढी पसेर समस्या भएको बताउनुभयो । उहाँले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र कामदार दशैं मनाउन बिदामा गएकाले व्यक्तिको मेसिन प्रयोग गरेर फाराम खोलाको बाढी तर्काउने काम गरिए पनि सार्थकता पाउन नसकेको जानकारी दिनुभयो । 

प्रतिकुल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान हुन सकेको छैन । हवाई उडान हुन नसक्दा पर्यटकहरू समस्यामा परेका छन् । खराब मौसमले गर्दा हवाई उडान नहुँदा मुस्ताङ भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटकहरू, पदयात्रीहरू मुस्ताङमै रोकिएको प्रजिअ शर्माको भनाइ छ । 

बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक बन्द भएपछि मुस्ताङमा रहेका पर्यटकलाई जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षित रहन निर्देशन दिइएको प्रजिअ शर्माले बताउनुभयो । 

वर्षाले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डको रघुगंगा गाउँपालिकाको बैंसरी, अन्नपूर्ण गाउँपालिकाको नैनीबगर र रुप्सेखोलामा सडकभन्दा माथिबाट पहिरो खसेर सडक बन्द भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीले जानकारी दिनुभयो । 

पश्चिम म्याग्दी भेग भएर जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीर र बाङ्गेपहिरोमा पनि पहिरो खसेर सडक बन्द भएको छ । वर्षाले म्याग्दीका ग्रामीण क्षेत्रका सडकहरू पनि हिलाम्मे हुनुका साथै अस्तव्यस्त बनेका छन् । 

अविरल वर्षासँगै म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक, गूर्जाखानीलगायत उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । मुस्ताङको मुक्तिनाथको डाँडाकाँडासहित धौलागिरि र निलगिरी रेन्ज तथा चौंरीखर्क क्षेत्रमा हिउँ परिरहेको मुस्ताङ प्रहरीले जनाएको छ । भारी वर्षासँगै हिमपात भएपछि मुस्ताङमा चिसो महसुस गरिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ, आलुलगायत कृषिजन्य उत्पादनहरू ढुवानी हुन पाएको छैन । 

अविरल वर्षाको बाबजुद पनि म्याग्दी र मुस्ताङको पर्यटकीय क्षेत्रमा पर्यटक पुगेका छन् । राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा अहिले दैनिक सय जनाको हाराहारीमा विदेशी पर्यटकहरू भ्रमणमा आउने गरेको इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ ।