• १३ असोज २०८१, आइतबार

बिरामीको मृत्यु भएपछि मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ

blog

अस्पतालको फाइल तस्बिर

शालिग्राम नेपाल 

चितवन, असोज १८ गते  । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको सघन उपचार कक्ष (आइसियु) कक्षभित्र प्रवेश गरेर मङ्गलबार तोडफोड गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।

तोडफोडबाट लाखौँ रुपियाँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरण लगायतमा क्षति पुगेको अस्पतालले जनाएको छ । आक्रोशित भिडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पताल प्रशासनको भनाइ छ । 

भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । उहाँलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर उपचारका लागि आफन्तले अस्पताल भर्ना गरेका थिए । अस्पतालले उपचार गर्न सेन्ट्रल भ्यान खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरूले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको अस्पतालको भनाइ छ । 

तोडफोडमा संलग्न रहेको भन्दै मृतकका १० जना आफन्तलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।