तम्घास समाचारदाता
तम्घास, असोज १६ गते । धुर्कोट गाउँपालिकाले घरेलु हातहतियार प्रयोग गरी वन्यजन्तुको सिकार खेल्न पाउने गरी कानुन निर्माण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । वन्यजन्तुको आतङ्कले बालीनाली नष्ट गरेको र यसलाई नियन्त्रण गर्न भन्दै पटक–पटक सर्वसाधारणले आग्रह गरेकाले अब सिकार गर्ने वा नियन्त्रणमा लिने कानुन निर्माण गर्न गाउँपालिकाले आग्रह गरेको हो ।
यस्तै बँदेल, दुम्सी, खरायो, मृगहरूलाई नियन्त्रण गर्नका लागि वार्षिक रूपमा निश्चित समय तोकी घरेलु हातहतियार प्रयोग गरेर सिकार खेल्न पाउने गरी कानुन निर्माण गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो ।
आफूहरूसँग कानुन नभएकाले जनताको मागलाई सम्बोधन गर्न नसकिएकाले कानुन निर्माण गर्नका लागि मन्त्रालयलाई आग्रह गरिएको प्रमुख पोखरेलले बताउनुभयो । जङ्गली वन्यजन्तुका कारण खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने समस्या आएको छ ।
यसअघि जिल्ला सभामा पनि स्थानीय तहका प्रमुखले वन्यजन्तुको आतङ्कलाई रोक्न र नियन्त्रण गर्न साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।