गोविन्द शर्मा
बाँके, वैशाख १ गते । बाँकेको खजुरा गाउँपालिका–४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भारतीय राजदूतावासको सहयोगमा १६ कोठे सुविधासम्पन्न भवन निर्माण गरिने भएको छ । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार भारतीय राजदूतावाससँगको सम्झौता बमोजिम चार करोड ८१ लाख रुपियाँको लागत अनुमानमा भवन निर्माण हुन लागेको हो । भवन निर्माणसँगै विद्यालयका लागि आवश्यक अन्य भौतिक संरचना र सामग्रीसमेत उपलब्ध गराइने छ । सम्झौता अनुसार कुल लागतको पाँच प्रतिशत रकम गाउँपालिकाले साझेदारी गर्ने उल्लेख छ ।
मूल्य अभिवृद्धि कर बाहेकको सम्झौता भएकाले यस विषयमा आन्तरिक राजस्व कार्यालयसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकामा भारत सरकारको सहयोगमा पहिलो पटक विद्यालय भवन निर्माण हुन लागेको बताउनुभयो । उहाँले समयमै गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भवन अभाव खेपिरहेको विद्यालयमा नयाँ संरचना बन्ने भएपछि शिक्षक, विद्यार्थी र अभिभावक उत्साहित भएका छन् । विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले भन्नुभयो, “२०२८ सालमा स्थापना भएको यस विद्यालयमा भौतिक पूर्वाधार थपिएपछि शैक्षिक गुणस्तर सुधारमा ठुलो सहयोग पुग्नेछ ।”
हाल कक्षा ११ र १२ मा कानुन तथा शिक्षा सङ्कायको अध्ययन भइरहेको यस विद्यालयमा करिब ५०० विद्यार्थी रहेका छन् । नयाँ भवन निर्माण भएपछि नमुना इजलास लगायतका पूर्वाधार तयार गरी कानुन सङ्कायलाई थप विस्तार गर्ने विद्यालयको योजना छ ।