सिराज खान
नेपालगञ्ज, असोज १६ गते । दशैँ सुरु भएसँगै कर्णाली प्रदेशको पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई जहाजको टिकट पाउनै सकस भएको छ । दशैँ मनाउन आएकाहरू जहाजको टिकट नपाएर नेपालगन्जमा अलपत्र परेका छन् । अधिकांशले एक साता कुर्दा पनि टिकट नपाएको गुनासो गरेका छन् । कर्णाली प्रदेशमा उडान गर्दै आएका निजी विमान कम्पनीले दशैँको मुखमा उडान सेवा कटौती गर्दा डोल्पा, हुम्ला र मुगुमा समस्या भएको हो । तारा एयर र सीता एयरले डोल्पा, हुम्ला, मुगु र जुम्लाको उडान कटौती गरेका छन् ।
दैनिक १२ वटा उडान भर्दै आएको तारा एयरले दशैँको मुखमा उडान कटौती गरी हप्तामा चारवटा मात्रै उडान गर्न थालेपछि दशैँ मनाउन नेपालगन्जबाट घर फर्कँदै गरेका यात्रु समस्यामा परेको डोल्पा दुनैका नरेश बुढाले बताउनुभयो । विदेशी पर्यटकलाई लक्षित यहाँका विमान पोखरा जोमसोम क्षेत्रमा पठाई उतै उडान भर्न सुरु गरेपछि कर्णाली प्रदेशका यात्रुले हप्तौँ पर्खँदा पनि घर फर्कन नपाएको गुनासो उहाँको थियो ।
अहिले करिब ३५० यात्रु हुम्लाका लागि उडान भर्न प्रतीक्षारत छन् । अधिकांश यात्रु होटलमा बसेकाले खर्चको पनि समस्या भएको छ । नेपालगन्जमै तीनवटा विमान राखेर कर्णाली प्रदेशमा उडान भर्दै आएको तारा एयरको पछिल्ला दुई सातादेखि नेपालगन्जमा एउटा पनि विमान छैन ।
सीता एयरका नेपालगन्ज प्रमुख सन्दीप भण्डारीले विमान बिग्रिएकाले उडान हुन नसकेको जनाउँदै मर्मतसम्भार कार्य सम्पन्न भएको एक÷दुई दिनबाट उडान सुरु गरिने बताउनुभयो ।
समिट एयरले मात्र अहिले नेपालगन्जबाट कर्णाली प्रदेशका जिल्लामा दैनिक पाँचवटासम्म उडान भर्दै आएको छ । तारा र सीता एयरको उडान कटौती हुँदा यात्रुको चाप बढ्दा त्यसको प्रत्यक्ष असर समिट एयरलाई परेको उक्त एयरलाइन्सले जनाएको छ । सोबारेमा नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख सुरेश खनालले विमानहरूको उडान तालिका केन्द्रबाटै निर्धारण हुने हुँदा सोहीबमोजिम उडान हुँदा दशैँका बेला यात्रुको चाप बढेकाले समस्या भएको बताउनुभयो ।