नवरात्रिमा नौ दिनसम्म दुर्गा शक्तिको आराधना भक्तिपूर्वक गर्नाले मनोकाङ्क्षा पूरा हुन्छ भन्ने आमभावना छ । दसौँ दिन सबै नकारात्मक तìवलाई परास्त गरी विजयस्वरूप विजया दशमी मनाउने परम्परा हिन्दु धर्म संस्कृतिको पहिचान हो । भगवान् श्रीरामले लङ्कापति रावणमाथि विजय प्राप्त गरेको दिन विजया दशमी हो भनेर पनि प्रख्यात छ ।
भारतमा रावण र कुम्भकर्णको पुतला जलाएर दसहरा मनाउने प्रचलन छ । भारतीय उपमहाद्वीपको धर्म संस्कृति भएका कारण नेपालमा मनाइने हिन्दु धर्मका धेरैजसो चाड भारतमा पनि मनाइन्छ । प्रचलन र प्रतीक जे भए पनि त्यो कुनै धर्मयुद्ध र व्यक्तिविशेषको युद्ध नभई मानव मनभित्र र स्वभावभित्र अवस्थित शक्ति, भक्ति, आराधना, कुम्भकर्ण, राम र रावण तìवलाई जीवनमा स्मरण गरी त्यसबाट आफ्नो प्रेम, भक्ति र आत्मज्ञानको शक्तिलाई पहिचान गर्ने अवसर हो नवरात्रि ।
माता दुर्गाको शक्ति तीनलोकमै अलौकिक छ र दुर्गा भनेकै शक्तिशाली हो भन्ने अर्थ बुझाउँछ । दुर्गाको सकारात्मक ऊर्जा शक्ति वायुमण्डलमै प्रवाहित भएको हुन्छ र त्यो शक्ति नारी शक्ति हो भनेर बुझिन्छ । दानव पुरुष तìवलाई संहार गर्ने देवी भन्नुको प्रतीकात्मकता पनि प्रकृति र पुरुषको संयोजन अनि एकातिरको ऊर्जा नकारात्मक र अधैर्य भयो भने सहनशीलताको ऊर्जाले अस्तित्वमा सत्यता र प्रेमको प्रवाह फैलाउने प्रतीकका रूपमा यसलाई बुझ्नुपर्छ ।
नकारात्मकतालाई परास्त गर्ने नारी शक्ति केवल नारीमा मात्र हुन्छ भन्ने होइन, त्यो पुरुषमा पनि हुनु जरुरी छ । त्यसैले त देवी, दुर्गा, त्रिशक्तिका रूपमा पार्वती, लक्ष्मी र सरस्वतीको रूप मानिनु आदि शक्तिका रूपमा चिनिनुको पछाडि व्यक्तिका मनभित्र रहेका दानवरूपी स्वभावलाई नष्ट गर्ने सत्यताको शक्ति सबै मनुष्यमा छ, त्यसको पहिचान गरौँ भन्ने सन्देश नवरात्रिको
प्रसङ्गमा छिपेको छ ।
शक्ति के हो ?
आत्मज्ञानको बोध नै सबैभन्दा ठूलो शक्ति हो । भौतिक संसारमा सस्त्र, अस्त्र, युद्ध कसैलाई पराजित गर्न सक्नु शक्तिवान् मानिन्छ तर आफूभित्रको आन्तरिक शक्ति पहिचान गरी आफूभित्र रहेका काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषरूपी युद्ध परास्त गर्न सक्नुजत्तिको शक्ति केही होइन । जसलाई थोरै प्रतिशत व्यक्तिले मात्र बुझेर आफ्नो जीवनमा आत्मसात् गरेका छन् ।
तिनै व्यक्ति संतìव, सत्य र सात्विकतामा बाँच्न सफल भएका छन् । बाहिरी शक्ति केवल अहङ्कारको परिचय हो भने आत्मशक्ति स्वयंको पहिचान हो । दुर्गा शक्तिको आह्वानले जस्तोसुकै प्रतिकूल परिस्थिति पनि सहज हुन्छन् र मानव जातिका लागि कल्याणको मार्ग खुल्छ भन्ने सनातन विश्वास रहिआउनुका कारण पनि यही आन्तरिक क्षमताको पहिचानलाई जोड दिइएको हो ।
सनातन धर्म र परम्परा के हो ?
सनातन निरन्तर चलिरहेको, चलिरहने विश्वास हो । प्रयोग र विज्ञानले विश्वस्त पार्न नसकेका कतिपय धारणा, मान्यता र सत्यतालाई मानव विश्वासले युगौँसम्म टिकाएर राखेको हुन्छ । नेपालीको महान् चाड दशैँमा विशेष गरी दुर्गा शक्तिको आह्वान र उपासना गरिन्छ । नौ दिनसम्म नवदुर्गाको आराधना र उपासनापश्चात् दसौँ दिन देवीको प्रसाद र आशीर्वादस्वरूप टीका र जमरा ग्रहण गरिन्छ । नकारात्मक शक्तिलाई परास्त गरेर सकारात्मक ऊर्जा प्राप्त गर्ने अवसरका रूपमा पनि यो पर्वले महìव राख्छ ।
साङ्केतिक रूपमा देखिएको, जानिएको र बुझिएको दुर्गा शक्ति, देवीको तस्बिर, हातहरूमा हतियार अनि असुरलाई पैतालोमुनि पारिएको जुन दृश्य तस्बिरमा देखाइएको हुन्छ, त्यसलाई सिधैँ अर्थ लगाएर देवीले असुरहरूको हिंसा गरेको कुरा मात्र बुझ्यौँ भने हाम्रो ज्ञान अपूर्ण हुन जान्छ । देवी, दुर्गा अर्थात् नारी शक्ति जसरी उल्लेख गरे पनि यी शक्तिले कुनै प्राणीको हिंसा गरेको नभईकन मानिसभित्रको कमजोरीपना, दुव्र्यवहार, घृणालगायतका नकारात्मक शक्तिलाई सिञ्चित गरेर राखिएका विकारलाई परास्त गर्न दुर्गा शक्ति अर्थात् देवत्व शक्तिको जरुरत छ भनेर सन्देश दिन खोजिएको हो ।
दुर्गा शक्तिको आह्वान नवदुर्गाको मन्दिर गएर फूल अक्षता चढाउनु र निराहार बस्नु मात्र अवश्य होइन, प्रत्येक व्यक्तिभित्र रहेको देवत्वलाई जागृत गराउनु पनि हो । व्यक्तिको जीवनमा अराजकता, अन्योलता, कमजोरीपना, भय, नैराश्यता जागृत भएका कारण प्रायःजसो अस्थिरता र असन्तोषमा जीवन गुज्रिरहेको भेटिन्छ । प्रत्येक व्यक्तिभित्र असुरको गुण मात्र छिपेको छैन, देवत्वको स्वभाव पनि लुकेर बसेको छ भन्ने जागृत गराउन देवीहरूको, दुर्गा शक्तिको महिमालाई परम्परादेखि महìवका साथ हेरिँदै आइएको हुनुपर्छ ।
देवत्व र असुरको प्रतीकात्मक अर्थ हो कि प्रत्येक व्यक्तिभित्र देवत्व र असुर दुवै गुण समाहित छन् । हाम्रो व्यवहार र मनस्थितिले पनि यो देखाउँछ । महìवपूर्ण पक्ष भने हामी कुन स्वभाव लिएर बाँच्ने, व्यवहार गर्ने र जीवनलाई कसरी धन्य बनाउने आफैँमा भर पर्छ । दुवै गुण एकै पटक प्रकट हुन सक्दैनन् अर्थात् मानिस एकै पटकमा असुर र देवता बन्न सक्दैन । देवत्व, सत्यता, इमानदारीले भरिपूर्ण व्यक्ति असुर बनेर अरूलाई धोका दिन सक्दैन । म को हुँ र मभित्र कस्तो गुण छिपेको छ, त्यसको पहिचान गर्नु जरुरी छ ।
देवीलाई आह्वान गर्न बाहिर मन्दिर, मूर्ति, तस्बिरमा फूल, अक्षता चढाएर पुग्दैन । भित्र आत्मादेखि आह्वान गर्नुपर्छ । व्यक्तिभित्र नै छिपेको छ राक्षसी र दैवीय गुण । प्रेम, श्रद्धा, स्नेह, कल्याणकारिता पनि व्यक्तिभित्रै छ र घृणा, द्वेष, असन्तोष, लोभ, मोह पनि व्यक्तिभित्रै छिपेको छ । तिनै असुररूपी स्वभावलाई पैतालोमुनि पारेर प्रेमरूपी स्वभावलाई जागृत गर्नु दुर्गा शक्तिको आह्वान गर्नु हो ।
अहिंसा परमो धर्म भनेर सारा प्राणीको रक्षा गर्ने देवीले कुनै प्राणीको हत्या, हिंसा गर्ने सङ्केत पक्कै दिएकी हुन्नन् । तिमीहरूभित्र रहेको असुररूपी तìवलाई परास्त गरी यही नै देवी शक्तिको प्रेरणा र सन्देश हो । देवीको अष्ट हातमा भएका हतियारले दिन खोजेको सन्देश पनि ज्ञानरूपी हतियारले व्यक्तिभित्र भएका विकाररूपी तìवलाई परास्त गर्नु र आत्मावान् भएर बाँच्न सिकाउनु हो । अष्ट हातमा भएका हतियार र शक्तिको अर्थ हो– ममा प्रेम, जागरण, कल्याणकारिता, सहयोग, ज्ञान, प्रज्ञा, ध्यान र धैर्यतारूपी हतियार छन् र तिनलाई प्रयोग गरेर जीवनलाई सार्थक बनाउँछु ।
नवदुर्गाभरि मन्दिर जानु, उपासना गर्नु र मिठामिठा परिकार बनाएर परिवारजनलाई खुवाउनुमा मात्र सीमित ग¥यौँ भने त्यो कर्मकाण्ड बन्छ । सङ्कल्प गरौँ, नवदुर्गाभरि म सबैसँग मिठो बोल्छु, कसैलाई हिंसा हुने कार्य गर्दिनँ, कसैप्रति घृणा गर्ने छैन । कसैका बारेमा गलत र नकारात्मक सोच्ने छैन । स्वयंमा आनन्दित र प्रफुल्लित रहनेछु, प्रेम बाँड्नेछु, परोपकारका कार्य गर्नेछु, ध्यान–साधनामा डुब्नेछु । योभन्दा उपयुक्त उपासना र उत्सवको आयाम अरू के होला ?
व्रत, उपासना र पूजाको अर्थ हो– मभित्रबाट शान्त, सरल, धैर्यवान्, प्रज्ञावान्, इमानदार बन्नेछु । नकारात्मक चिन्तन गर्ने छैन, हानिकारक भोजन गर्ने छैन । व्रत लिनुलाई मात्र महìव दिएर होइन, व्रतबाट ग्रहण गर्न खोजेको कुरा के हो त्यसलाई पनि ख्याल गर्नु वास्तविक चिन्तन हो । यसले नै आत्माको शक्तिलाई पनि वृद्धि गर्छ । आफ्नो इच्छा शक्तिलाई वृद्धि गर्छ र सकारात्मक ऊर्जाको प्रवाह हुन थाल्छ । नौ दिनसम्म सात्विकतालाई ध्यान दिन सकियो भने कति उत्तम होला ? प्रसाद के हो ? जुन चिज सात्विक छ, कल्याणकारी छ, सर्वहितकारी छ त्यही नै प्रसाद हो । अरूलाई देखाउन होइन, आफ्नो स्वास्थ्यका लागि, सङ्कल्प र प्रतिज्ञा शक्ति बढाउन व्रत र उपासना ग-यौँ भने
सार्थक हुनेछ । नवदुर्गाभरि प्रज्वलित गरिने दियो अर्थात् प्रकाश केवल कपासको बत्ती र तेलको मिश्रणबाट निस्केको उज्यालो मात्र अवश्य होइन । कर्मकाण्डका लागि जलाइने दियो मात्र होइन, हाम्रो प्रेम, सद्भाव, मित्रता, समझदारिता र मानवीयताको प्रकाश बनेर फैलियोस् । आफूभित्रको अन्धकारलाई ज्ञान, ध्यान र प्रज्ञारूपी दियोले परास्त गर्न सकोस् । हामीले दिने शुभकामना शब्दमा मात्र होइन, भावबाट प्रकट भई व्यवहारमा लागू हुन पनि सकून् । जागरण, सात्विकता, प्रेम र प्रकाश भएपछि कुनै पनि सम्बन्ध सुमधुर र दीर्घकालीन हुनेछन् । यही नै जीवनको सार्थकता र पर्वको उत्सवमय औचित्य बन्नेछ ।