कञ्चनपुरकी २८ वर्षीय युवती कमला आउजीको असार २८ गते सर्पदंशको कारण छाउगोठमा मृत्यु भयो । मृत्युको समाचार प्रायः मिडियाको कभरेजभित्र प¥यो । केही दिनअघिको यो समाचारले अन्धविश्वासको स्तर र नारीमाथिको प्रताडना स्पष्ट हुन्छ । यो समाचार नभएर नेपाली समाज र सभ्यताको ऐना थियो; जहाँ हामी आँखा चिम्लेर आफ्नो ‘संस्कार’ जोगाउने बहानामा नारीलाई बलिवेदीमा होमिरहेका छौँ । अझ पनि हामी ‘छाउ बसेर शुद्ध हुन्छ’ भन्ने भ्रमको ढोका अघिल्तिर दण्डवत् गरिरहेका छौँ । अनेकौँ ज्यादतीमा हाम्रा छोरी चेलीमाथि बर्बर आतङ्क मच्चाइरहेका छौँ । छाउगोठमा नारी कहिले बाघ भालुको आक्रमणमा परेकी छन् भने कहिले सर्पदंशबाट मृत्यु वरण गर्न बाध्य छन् । कहिले मान्छे रूपी राक्षसबाट बलात्कारको सिकार हुनु परेको छ । छाउगोठको ढोकाबाट एक÷एक गरेर हाम्रा छोरी मृत्युको मुखमा पुगिरहेका छन् । समाज र संस्कारको विषाक्त विषले कतिन्जेल छोरीहरू मरिरहनुपर्ने हो ? हामीलाई लाज लाग्नु पर्छ, हाम्रो अज्ञानतामा गर्व गर्ने प्रवृत्ति र नारीलाई दोस्रो दर्जाको मानिस ठान्ने मानसिकताप्रति । त्यो सर्पले युवतीलाई होइन, हाम्रो ‘सांस्कृतिक अन्धो आँखालाई’ डसेको हो । हाम्रो विवेकलाई चुसेको हो, जुन विवेक दृष्टिविहीनताको सिकार भएको छ । आममान्छेको विवेकहीनताको सिकार निर्दोष र निरपराध आमा दिदी काटिन परिरहने ?
हाम्रो सांस्कृतिक विश्वासले नारीको पीडा बुझ्न सक्दैन । नारी पीडालाई आफ्नो पीडा ठान्न सक्दैन । त्यो सर्पले एउटा युवतीको जीवन मात्र लिएन, उसले कानुनको प्रभावहीनता, समाजको असंवेदनशीलता र राज्यको असफलता उजागर गरिदियो । एउटी छोरी आफ्नो शरीरको मासिक चव्रmको प्राकृतिक प्रव्रिmया पूरा गरिरहँदा अपराधी, अशुद्ध र अपवित्र बन्नुपर्ने ? यो केवल सर्पदंशबाट भएको मृत्यु होइन । यो समाज, परम्परा र राज्यको बेवास्ताले संयुक्त रूपमा गरेको योजनाबद्ध हत्या जस्तै हो । यस्तो मृत्युले हामी सबैको विवेकमाथि प्रश्न उठाएको छ । के हामी साँच्चै मानवीय सभ्यतामा बाँचिरहेका छौँ ? हाम्रो चेत किन खुल्दैन अझै पनि ? राज्यले बनाएका नियम कानुनको किन धज्जी उडाएर अकाल र अकारण मर्न बाध्य छन् हाम्रा चेलीहरू ?
छाउ अर्थात् मासिक धर्म हुँदा पर बस्नु एकान्तमा बस्नु, बिनास्याहारसुसार बस्नु हुँदै होइन । यतिबेला समूहमा बस्ने, स्वास्थ्यबर्धक पोषणयुक्त खाना खाने आराम गर्ने समय हो । सृष्टिको अनुपम वरदानलाई घृणा अपमान छोइछिटो र सामजिक रूपमा वर्जित बनाइनु धार्मिक रूपमा पाप र कानुनी रूपमा अपराध हो । राज्यको कानुन र नियमविपरीत काम हो ।
महिनावारी : प्रकृतिको अनुपम देन
महिनावारी कुनै ‘दोष’ होइन, यो त सृष्टिको एक पवित्र चक्रहो । छाउ हुनु भनेको महिला तथा किशोरीहरू सन्तान उत्पादनका लागि योग्य भएको सङ्केत पनि हो । यही चक्रले मान्छे पैदा हुन्छन्, यही चक्रले जीवनलाई निरन्तरता दिन्छ । नारीको यो जैविक प्रक्रिया बन्द भयो भने संसारमै जीवनको स्रोत सुक्छ र सकिन्छ । महिलामाथि विभेद र ज्यानै जोखिममा पारिने कुप्रथाविरुद्ध कानुनी प्रबन्ध नभएको पनि होइन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८(३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरेको ठहरे तीन महिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । संविधानले नै महिलाको मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकको ग्यारेन्टीसमेत गरेको छ । यद्यपि मातृत्व र प्रजनन प्रक्रियाको अनन्य पक्षलाई हामी अपवित्र अशुद्ध र अपहेलित गरेर छाउगोठमा मृत्यु वरण गर्न बाध्य पार्छौं । विश्वका धेरै सभ्यताले जस्तै : आदिवासी ज्ञान, वैदिक साहित्य र आधुनिक विज्ञान सबैले महिनावारीलाई सम्मानजनक दृष्टिले हेरेका छन् । यौवनको सङ्केत, मातृत्वको पूर्वाधार र जीवनको पुनरावृत्तिको चिह्नका रूपमा महिनावारीले नारीको शरीरमा चमत्कारी शक्ति झल्काउँछ । यो कस्तो विडम्बना ! जहाँ प्रकृतिले नारीलाई जीवनको मूल केन्द्र बनाएको छ, उही समाजले उनलाई गोठमा थुनेर मृत्युको मुखमा पुग्ने वातावरण बनाउँछ ।
छाउप्रथा : संस्कार होइन, सङ्कीर्णता
कतिपयले ‘छाउ बस्ने चलन’ लाई संस्कृति भन्छन् । के संस्कृति त्यो हो, जसले छोरीलाई मार्न उक्साउँछ ? पक्कै उक्साउँदैन र मिल्दैन । संस्कार, संस्कृति र अन्धविश्वासबिच ठुलो भिन्नता छ । संस्कार र संस्कृति चेतना प्रधान, वैज्ञानिक र सहज हुनु पर्छ, जसले समता फैलाउन र बढाउन मद्दत गर्छ । छाउप्रथा जस्तो अभ्यासले त अपमान गर्छ, विभेद फैलाउँछ, अनाहक र अनाधिकृत रूपमा महिलाको जीवन सकसमा पार्छ र सकाउँछ । के अब पनि हामी यस्ता अभ्यासलाई ‘चालचलन’ को नाममा जोगाइरहन सक्छौँ ? अवश्य सक्दैनाँै । अब यस कुप्रथाको जरो निमोट्न आवश्यक छ । त्यो जरो भौतिक छाउगोठ भत्काएर पुग्दैन हाम्रो मानसिक छाउगोठ भत्काउनु पर्छ । मानसिक छाउगोठ र छाउप्रतिको गलत धरणा भत्काउन सकियो भने भौतिक छाउगोठहरू आफँै मक्किएर भत्कने छन् ।
छाउपडीसम्बन्धी कानुनमा के छ ?
सर्वोच्च अदालतले २०६२ सालमा एउटा मुद्दामा सरकारका नाममा यो छाउपडी प्रथा महिलामाथि हुने हिंसा तथा विभेदमध्येको एक भएकाले यसलाई निषेध गर्न छुट्टै कानुन निर्माण गर्ने परमादेश जारी गरिसकेपछि कानुनी रूपमा छाउपडीलाई दण्डनीय मान्न थालिएको हो । नेपाल सरकारले २०६४ सालमा छाउपडी उन्मूलन निर्देशिका जारी गरी छाउपडी प्रथालाई कुरितिजन्य प्रथा मानेको पनि भिन्नै कानुन बनाई छाउपडी प्रथालाई निषेधित गरेको थिएन । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ । यस्तो कार्य गरेको ठहरिएमा तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिबाना हुन सक्ने व्यवस्था यस ऐनमा गरिएको छ । साथै यस्तो व्यवहार सार्वजनिक ओहदाको व्यक्तिले गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने तीन महिना कैद थप तीन महिना कैद हुने व्यवस्था गरिएको छ । सोहीको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडावापत मनासिव क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ । तथापि आमव्यवहारमा छाउपडी र मासिक धर्मको बेला महिलामाथि संस्कृतिको नाममा ज्यादती रहेको छ र जसको सिकार महिला कहिले बाघको आव्रmमणमा पर्छन् त कहिले सर्पदंशको कारण मारिन्छन् । यस पटक कमलाको मृत्यु कुनै समाचार होइन, यो अन्तिम चेतावनी हो । यस पटकको मृत्यु कुनै समाचार होइन, यो अन्तिम चेतावनी हो । अब पनि हामी मौन बस्यौँ भने, इतिहासले हामीलाई अपराधी भन्ने छ ।
अब के गर्ने ?
कानुनको कडाइका साथ कार्यान्वयन
छाउपडी प्रथा अपराध हो भन्ने सन्देश स्पष्ट रूपमा पु¥याउँदै स्थानीय तहमा प्रहरी, जनप्रतिनिधि र न्यायिक समिति सक्रिय रूपमा निगरानीमा लगाउनु पर्छ । दोषीलाई सजाय दिँदा मात्र डर र चेतना फैलन्छ । अब समय आयो छोरीलाई गोठबाट घरमा ल्याउने । छोरीलाई डर होइन, सम्मान दिने । महिनावारीलाई लाज होइन, गर्वको कुरा बनाउने । छाउलाई शुद्धता र शक्तिको चिह्न मानेर, गोठ होइन, गरिमाको स्थान दिने ।
स्थानीय स्तरीय जनचेतना अभियान
गाउँ गाउँमा महिला समूह, शिक्षक, स्वास्थ्यकर्मी, युवालाई संलग्न गराई छाउपडीको अन्धविश्वासविरुद्ध निरन्तर संवाद, नाटक, भिडियो, रेडियो कार्यक्रम र स्कुलस्तरीय शिक्षामार्फत चेतना फैलाउनु पर्छ ।
मासिक धर्ममैत्री संरचनाको विकास
महिलालाई शौचालय, पानी, सेनिटरी प्याड, आराम गर्ने ठाउँको पहुँच सहज बनाउनु अत्यावश्यक छ । विद्यालय र घरमा सुरक्षित, सफा र गोप्य स्थान उपलब्ध गराउनु पर्छ ।
धार्मिक र सांस्कृतिक मिथकको समीक्षा र खण्डन
‘छाउपडी पाप हो’ भन्ने धार्मिक अन्धविश्वास चिर्न धार्मिक अगुवा, बुद्धिजीवी, र संस्कृतिविद्को सहकार्यमा तथ्यपरक बहस आवश्यक छ ।
महिला नेतृत्वलाई सशक्त बनाउँदै पीडितको संरक्षण
छाउपडीबाट पीडित महिलालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्ने संयन्त्र बनाउनु पर्छ । महिला नेतृत्वलाई समुदाय परिवर्तनको अगुवा बनाउँदै उनीहरूको आवाजलाई कानुनी र सामाजिक समर्थन दिनु पर्छ ।
मनोवैज्ञानिक परामर्श
हरेक घर गाउँ टोलमा मनोवैज्ञानिक उपचार पद्धतिद्वारा छाउ, बोक्सी छुवाछुत जस्ता कुरीतिजन्य अन्धविश्वास विरुद्ध मनोपरामार्शदाताद्वारा सम्झाउने बुझाउने र मस्तिष्कको संरचनागत सुधारको विशेष पहल गर्ने ।
निष्कर्ष
महिनावारी या मासिक धर्म हरेक प्रजनन सामान्य फिजियोलोजी हो । कुनै पनि महिला आमा बन्न शारीरिक रूपमा सक्षम छन् भन्ने आधार हो, महिनावारी नकि जीवनकै अभिशाप । यो प्राकृतिक वरदान हो, कसैको छनोट रहर र बाध्यता होइन । यसलाई ठुलो र जटिल बनाएर हेर्नु जरुरी छैन । महिनावारीलाई निकृष्ट सोचेर छुट्टै राख्नु पर्दैन । विगत र परम्पराबाट राम्रा विज्ञानसम्मत र चरित्र बनाउने कुरा सिक्ने हो यस्ता अवैज्ञानिक मान्यता, महिनावारीको छोइछिटो, दलित भनेर भेदभाव, छुवाछुत, बोक्सी आदि जस्ता समाजका कलङ्क अन्धविश्वास, कुरीति र घिनलाग्दा अमर्यादालाई यथाशक्य मृत घोषणा गरेर अन्त्यस्टि गर्न ढिला गर्नु मानव हित प्रतिकूल हुन्छन् । हाम्री आमा महिनावारी हुँदैनथिन भने हाम्रो अस्तित्व पृथ्वीमा जीवित हुँदैनथ्यो । हरेक नारीभित्र रहेको शारीरिक प्रक्रियालाई सम्मान गरौँ, शारीरिक जटिलता पैदा हुने संवेदनशील घडीमा अर्थात् नछुने भएको बेला महिलालाई यथोचित हेरचाह, सम्मान र मर्यादा गरौँ नारी अस्मिताको रक्षा सम्मान र स्नेहले मानव जीवन अरू श्रेयस्कर र सभ्य हुने छ । सुरक्षित र मर्यादित महिनावारी नै आजको मानवोचित व्यवहार नै वैज्ञानिक र आधुनिक पद्धति र जीवन शैली हो ।