• १६ भदौ २०८१, आइतबार

रामलीलाको भव्य मञ्चन

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, असोज १२ गते । विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको रामलीला भव्य रूपमा सुरु भएको छ । 

विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणका कारण यसको मञ्चन स्थगित गरिएको थियो । रामलीला सञ्चालक समितिले कोभिड सङ्क्रमणलाई ध्यानमा राखेर रामलीला मञ्चनको १५४ वर्षमा पहिलो पटक रामलीला मञ्चन स्थगित गरेको थियो । 

१५५औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महŒवको रामलीला मञ्चन नेपालगञ्ज उपमहानगरपालिका–१३, बाँकेगाउँस्थित रामलीला मैदानमा सोमबार साँझदेखि सुरु गरिएको हो । 

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दशैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म बेलुका ७ बजेदेखि राति १२ बजेसम्म हरेक दिन रामलीला मञ्चन गरिन्छ । 

भारतको वृन्दावन धामको व्रज रासलीला एवं रामलीला मण्डलले नेपालगञ्ज पुगेर यसको मञ्चन सुरु गरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।  

उहाँका अनुसार मण्डल सञ्चालक राधारमण शर्मा नेतृत्वको २१ जना कलाकारको टोलीले भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेको छ । 

मञ्चन हेर्न श्रद्धालु दर्शक पहिलो दिन नै ओइरिएकाले थप व्यवस्थापन गरिने अध्यक्ष कनोडियाको भनाइ छ ।