फिदिम, असोज ९ गते । पाँचथरका १ सय २ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन । जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रहरुको वर्गीकरण गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोही अनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।
वर्गीकरण गरिएमध्ये फिदिम नगरपालिकाका ९, फालेलुङ गाउँपालिकाका ११, तुम्वेवाको १,फाल्गुनन्दका ३ वटा र मिक्लाजुङका ८ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार फिदिम नगरपालिकाका ३ ,याङवरक गाउँपालिकाका ९, हिलिहाङका ११,कुम्मायकका १०, तुम्वेवाका ८,फाल्गुनन्दका १२ र मिक्लाजुङका ५ वटा मतदान केन्द्रलाइ संवेदनशील सूचीमा राखिएको छ ।
यस्तै फिदिम नगरपालिकाका ९ र याङवरक गाउँपालिकाको १ गरी ९ वटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन् ।
भौगोलिक विकटता,मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । ।
अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने हुन्छ । सुरक्षा अधिकारीहरुका अनुसार निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदान पश्चातको सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताकै आधारमा गरिन्छ ।
अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसँगै कर्मचारी व्यवस्थापन आदि पनि पर्छन् ।
फोटो ः–फाइल फोटो पाँचथरको फिदिम १२ स्थित पुलभञ्ज्याङ माविको मतदान केन्द्र ।