• ११ असोज २०८१, शुक्रबार

दशैँ नजिकिएसँगै खसीबोका महँगियो

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ९ गते । दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोका महँगिएको छ । अहिले सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा बिक्री गर्न ल्याइएका खसीबोका महँगो मूल्यमा बिक्री हुन थालेका हुन् । 

चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयवासीले बताएका छन् । नियमित हाटबजारमा १० किलोग्रामको खसीबोकालाई आठ हजार रुपियाँ पर्ने गरेकामा चाडपर्वको समयमा भने उक्त तौल बराबरको खसीबोकालाई १२ हजार रुपियाँभन्दा बढी पर्ने फुङ्लिङ नगरपालिका–७ का कमल भट्टराईले बताउनुभयो ।  

फुङ्लिङ बजारका डिल्ली पौडेलले चाडपर्वका समयमा स्थानीय व्यवसायी तथा किसानले आफूखुसी मूल्य बढाउने गरेका बताउनुभयो । 

यो समयमा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत बढेको उपभोक्ता बताउँछन् । प्रतिगोटा तीन हजार रुपियाँसम्ममा पाइने पाठापाठी शनिबारे हाटमा पाँच हजार रुपियाँभन्दा बढीसम्म मूल्य पर्न थालेको छ । 

दशैँ, तिहारजस्ता चाडपर्वलाई भनेर ग्रामीण क्षेत्रमा भने स्थानीयवासीले घरमै खसीबोका पाल्ने गर्छन् । व्यापार तथा व्यावसायिक सोच राख्ने किसानले चाडपर्वको समयमा राम्रो मूल्य पाउने अपेक्षासहित खसीबोका पाल्ने गरेका छन् । उनीहरूले चाडपर्वको मौकामा राम्रो फाइदा लिनेगरी गाउँघरमा पालेका खसीबोका हाटबजारमा ल्याएर बिक्री गर्ने गर्दछन् । 

कोभिड महामारीको दुई वर्ष अघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुन छोडेकाले पनि खसीबोका महँगिएको हो । चार÷पाँच वर्षअघिसम्म चाडपर्वका समयमा टिपताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गर्दथ्यो ।