• २ माघ २०८१, बुधबार

चाडपर्वमा बढी दुर्घटना

blog

काठमाडौँ, असोज ८ गते । बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । बिहीबार मात्रै मकवानपुर र रुकुमपूर्वमा भएका सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

दशैँको घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको र त्यसमा परी एक सय जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याङ्कमा छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकबहादुर राईले हरेक वर्षका दशैँ तिहारको समयमा बढी सडक दुर्घटना हुने गरेको बताउँदै भन्नुभयो, “चालकको लापरबाही र सडक तथा सवारी साधनको अवस्थाले दुर्घटना हुने गरेको छ । चाडपर्वमा सवारीको चाप अत्यधिक हुने भएकाले पनि समस्या बन्दै आएको छ ।”

प्रहरीको तथ्याङ्कअनुसार हरेक दिन सरदर सात जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । तर दशैँका बेला सो सङ्ख्यामा एकाएक वृद्धि हुने गरेको छ । अन्य समयमा निजी सवारीको दुर्घटना दर धेरै हुने गरेको छ भने दशैँमा सार्वजनिक यातायातको दुर्घटना धेरै हुने गरेको छ । दशैँका बेला तुलनात्मक रूपमा थोरै सवारी साधन दुर्घटना भए पनि मानवीय क्षति भने धेरै हुने गरेको छ ।

प्रहरीका अनुसार २०७८ सालको दशैँको १५ दिनमा १४७ जनाले ज्यान गुमाए । २०७७ सालको दशैँमा घटस्थापनादेखि पूर्णिमासम्म ११४ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८७३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । काठमाडौँ पूर्वको नाका साँगाको सडक सुरक्षाको जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजेश सिलवालले दशैँमा यात्रुको सङ्ख्या अत्यधिक हुने र त्यो भीडलाई थेग्नसक्ने सवारी साधनको अभाव तथा सडकको अवस्था उपयुक्त नहुँदा दुर्घटना बढ्ने गरेको दाबी गर्नुभयो ।

ट्राफिक प्रहरीले दुर्घटनाका कारणलाई पाँच भागमा विभाजन गरेर यो पटक दुर्घटना कम गर्ने प्रयास सुरु गरेको छ । चालक, सवारी साधन, यात्रु, सडकको पूर्वाधार र मौसमको कारण दुर्घटना हुने गरेको विश्लेषण प्रहरीको छ । चालकले नियम नमान्ने, जथाभावी ढोका खुल्ला राख्ने, ओभरटेक गर्ने, तीव्र गतिमा सवारी हाँक्ने, लामो समय एउटै व्यक्तिले गाडी चलाएर चालक निदाउने समस्याले दुर्घटना हुने गरेका छन् । त्यस्तै मादक पदार्थ सेवन गर्ने र मोबाइल चलाउँदा दुर्घटना हुने गरेको पनि छ । 

सवारीको यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्तीका कारण दुर्घटना भएका छन् । केही कारण स्वयं यात्रुको गल्तीका कारणले पनि हुने गरेका छन् । चढ्दा र ओर्लंदा ख्याल नगर्ने, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपु-याएर पनि दुर्घटना भएका छन् । सडकका खाल्टाखुल्टी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी, पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको सिलवालले बताउनुभयो । 

एकै पटक नेपालभर रुट अनुमति पाएपछि नयाँ सडकमा अनुभव नभएका चालकले पनि दुर्घटना गराउने गरेका छन् । बिहीबार मकवानपुरमा भएको दुर्घटनाको बस बनेपादेखि नेपालथोकसम्मको छोटो रुटमा चल्ने सवारी हो र नयाँ बाटोमा सवारी चलाउँदा सो दुर्घटना भएको थियो ।

पूर्व ट्राफिक प्रहरी सीताराम हाछेथुले सामान्य अवस्थामा भन्दा चाडपर्वमा २० प्रतिशतसम्म धेरै दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दूरीका सवारी साधनका चालकले पालो नपाउने हुँदा अरू सवारी साधनको प्रयोग गर्नुपर्दा दुर्घटना बढ्ने गरेको तर्क गर्नुभयो ।