• ८ मंसिर २०८१, शनिबार

ऐतिहासिक महत्व बोकेको भिमदुला ओझेलमा

blog

तीन हजार आठ सय मिटर उचाइ रहेको भिमदुला । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, असोज ७ गते । ऐतिहासिक महत्त्व बोकेको भिमदुला ओझेलमा परेको छ । भिमदुला पुग्न पूर्वाधार निर्माण नुहुनु र प्रचार प्रसारको कमीले ऐतिहासिक महत्त्व बोकेको भिमदुला ओझेलमा परेको हो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले महाभारतकालका मुख्य पात्र मध्येका भीमसेनको नामसँग जोडिएको भिमदुुला हाल ओझेलमा परेको बताउनुभयो । तीन हजार आठ सय मिटर अग्लो स्थानमा रहेको भिमदुुला महाभारतकालमा भीमसेनले तत्कालीन खसराज्य जुम्लाबाट ढुङ्गा कैलाश पर्वतमा फाल्ने क्रममा मारघोर लेकको भिमदुलामा ठोकिएर सिमकोट गाउँपालिका –५ घ्यू ढुङ्गामा खसेको कि‌वदन्ति छ । 

ढुङ्गाको एक भागमा जहिले पनि चिल्लोपन देखिनेगरेको स्थानीयको भनाइ छ । हाल सो ढुङ्गा शिव मन्दिर नजिक संरक्षणविहीन अवस्थामा रहेको छ । भिमदुुला ढुङ्गाले छेडेको कारण मानिसहरू आउजाउ गर्न सक्ने अवस्था छ । सो दुलालाई गाउँपालिकाले पर्यटकीय क्षेत्र समेत घोषणा गरेको छ । 

आन्तरिक पर्यटकहरू असार, साउन, भदौ र असोज महिनामा घुम्न आउने गर्नुभएको छ । बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सकिने दृश्य भिमदुलामा रहेको भए पनि आवश्यक प्रचार प्रसारको कमीको कारण हाल ओझेल परेको छ । 

अध्यक्ष रावलले प्रचार प्रसारको कमीका साथै सो स्थानसम्म पुग्न आवश्यक पूर्वाधारको विकास गर्न नसकिएको कारण पनि समस्या भएको बताउनुभयो । गाउँपालिकाको आफ्नो आन्तरिक स्रोत नभएका कारण संरक्षण र प्रवर्द्धन गर्न कठिन भएको उहाँको भनाइ छ । दुई वर्ष अगाडि कर्णाली प्रदेश सरकारले भिमदुलालाई सजाउने कार्य गरेको थियो ।

अग्लो खुल्ला स्थानमा भिमदुुला रहेका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूले त्यसको भरपुर मनोरञ्जन लिन सक्ने अवस्था रहेको स्थानीयको बुझाइ छ ।