• १३ साउन २०८१, आइतबार

मातृशिशु मृत्युदर घटाउन प्रशिक्षण

blog

गर्भवती आमा र नवजात शिशुको मृत्युदर कमी ल्याउन सहजीकरण कार्यक्रम । तस्बिर : जानु पाण्डे

जानु पाण्डे  

कपिलवस्तु, असोज ६ गते । प्रसूति अवस्थामा उचित समयमा प्रेषण (रिफर) नगर्दा भएको मातृशिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा युएस एडको सहयोगमा १० पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा पालिका उपप्रमुख तथा उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, बर्थिङ् सेन्टरका अनमीलाई प्रेषणसम्बन्धी जानकारी गराइएको थियो । कपिलवस्तुमा प्रसूतिका बेला उचित समयमा गर्भवती महिलालाई रेफर नगर्दा उहाँहरु जोखिममा रहेको स्वास्थ्य कार्यालय निमित्त प्रमुख अनिरुद्रकुमार श्रीवात्सवले बताउनुभयो । 

उचित समयमा रेफर नहुँदा गर्भवती आमाको मृत्यु हुने, शिशुको मृत्यु हुने, अस्वस्थ शिशुको जन्म हुने समस्या देखिएको छ । प्रसूति समयमा घरबाट स्वास्थ्य संस्था लैजाँदा एम्बुलेन्स खोज्दा, एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा लग्ने क्रममा ढिलाइ हुँदा आमा र शिशुको मृत्यु हुने घटना देखिएको कपिलवस्तु अस्पतालको नर्सिङ् प्रमुख लीला शर्माले बताउनुभयो ।

अस्पताल ढिलाे पुर्याउँदा जिल्लाका केही आमाले ज्यान समेत गुमाउनुपरेको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । जिल्लामा प्रसूति गराउन २९ स्वास्थ्य चौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र र ३ अस्पतालमा बर्थिङ् सेन्टर सञ्चालनमा छन् । पालिकाले प्रसूति गराउन स्वास्थ्य चौकीसम्म लग्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दैआएको शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । 

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भेले २०१६ मा गरेको सर्वेक्षणअनुसार प्रसूतिको बेला मृत्यु हुनेमध्ये ३८ प्रतिशत आमा एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रिफर गर्दा मृत्यु हुने तथ्याङ्क छ । मृत्यु भएकामध्ये २४ प्रतिशत घरबाट स्वास्थ्य चौकीसम्म पुर्याउँदा र ३१ प्रतिशत घरमा प्रसूति गराउँदा मृत्यु हुनेगरेको तथ्याङ्क छ ।