• १२ साउन २०८१, शनिबार

सत्ता गठबन्धनको सय सिटमा सहमति : अर्को बैठक बुधबार

blog

फाइल तस्बिर

काठमाडौं, असोज ४ गते । सत्ता गठबन्धनको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज बसेको बैठकमा सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै खनालले भन्नुभयो, “बालुवाटारमा बैठक भयो।तालमेलकै बारेमा छलफल गर्‍यौँ । सय सिटमा तालमेल बनिसकेको छ, सहमति जुटेको छ । बाँकी कुरा अर्को बैठकमा टुंगिनेछ ।” 

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता सहभागी दलका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलका सदस्यसमेत सहभागी हुनुहुन्थ्यो।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माअ‍ोवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

सत्ता गठबन्धनको अर्को बैठक बुधबार बिहान ८ बजे पुनः बस्नेछ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।