• १३ साउन २०८१, आइतबार

खरको छानोमुक्त हुँदै गुल्मी

blog

तिलाचन पाण्डे

तम्घास, असोज ३ गते । गुल्मीमा खरको छाना विस्थापित गर्ने कार्यक्रमअन्तर्गत पाँच हजार २६७ घरमा जस्तापाता लगाइएको छ। आगलागी र मनसुनजन्य विपत्बाट जोगाउन सुरक्षित आवास निर्माणका लागि खरको छानो हटाएर जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ।

मुसीकोट नगरपालिका गुल्मीमा कुल ९७४ घरमा भएको खरको छानोमा जस्ताको छानो फेर्नका लागि ९५४ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।  बाँकी २० वटा घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र यसका लागि हालसम्म चार करोड चार लाख २० हजार रुपियाँ खर्च भएको सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले जानकारी दिनुभयो । 

यस्तै रेसुङ्गा नगरपालिका गुल्मीमा कुल सात सय घरधुरीमा खरको छानो रहेकोमा सबै घरधुरीमा जस्तापाता लगाइसकिएको नगरपालिकाले जनाएको छ। सबै घरधुरीमा जस्तापाता लगाइसकिएकाले अब खरको छानोमुक्त नगर घोषणाको तयारीमा रहेको सूचना अधिकारी शङ्करप्रसाद गौतमले जानकारी दिनुभयो। यसका लागि एक करोड रुपियाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ। 

रुरुक्षेत्र गाउँपालिका ७४९ घरमा खरको छानो भएकोमा २६२ घरमा जस्तापाता लगाइसकेको र बाँकी ४८७ घरमा जस्तापाता लगाउने कार्य बाँकी रहेको गाउँपालिकाले जनाएको छ। ४८७ घरधुरीमध्ये पनि जनता आवास कार्यक्रममार्फत घर बनेकाले आफूहरूसँग वास्तविक डाटा भने नरहेको सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

चन्द्रकोट गाउँपालिकामा भने कुल ८४२ घरको छाना खरको भएकोमा ७३२ घरमा जस्तापाता लगाइएको र बाँकी ११० घरमा जस्तापाता लगाउने अभियान जारी रहेको छ। इस्मा गाउँपालिकामा ५४० खरका छानो भएका घरमा जस्तापाता लगाइएको छ। गाउँपालिकालाई खरको छानोमुक्त गाउँपालिका घोषणको तयारीमा रहेको निमित्तप्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिनुभयो। जसका लागि झन्डै दुई करोड रुपियाँ खर्च भएको छ। मदाने गाउँपालिकाका ७३६ घरमा खरको छाना भएकोमा सबै घरमा जस्तापाता लगाइसकेर गाउँपालिकालाई २०७८ फागुन २६ गते खरको छानोमुक्त घोषण गरिएको सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो। 

मालिका गाउँपालिकामा एक हजार ४०० घरमा खरका छानोमा जस्तापाता लगाइएको र गाउँपालिकालाई खरको छानोमुक्त घोषणा गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ। यस अभियानमा करिब तीन करोड रुपियाँ खर्च भएको छ। यस्तै गुल्मीदरबार गाउँपालिकामा ४६४ घरमध्ये ४१३ घरमा जस्तापाता लगाएको र बाँकी ५१ घरमा यसै आर्थिक वर्षमा लगाउने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो। कालीगण्डकी गाउँपालिकामा कुल एक हजार घरधुरीमा खरको छाना भएकोमा १९६ घरमा जस्तापाता लगाएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो। 

धुर्कोट गाउँपालिकाले गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरधुरीमा जस्तापाता लगाइसकेर खरको छानोमुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो। नागरिक सुरक्षित आवासअन्तर्गत १५७ घरधुरी, जनता आवासअन्तर्गत ३७, एकीकृत नमुना बस्तीअन्तर्गत १८, भूकम्पपछि गरिएको पुनर्निर्माणका ५३९ र जस्तापाता वितरणअन्तर्गत ५०४ गरी कुल एक हजार २४५ घरधुरीमा पूरा भएको गाउँपालिकाले जनाएको छ।

धुर्कोट गाउँपालिकालाई खरको छानोमुक्त गाउँपालिका घोषण गर्नका लािग कुल १९ करोड, २९ लाख ९४ हजार, ११९ रुपियाँ लगानी भएको छ। जसअन्तर्गत जस्तापाताका लागि एक करोड ८१ लाख ९२ हजार २८७, नागरिक सुरक्षित आवासका लागि ७८ लाख ५० हजार, जनता आवासका लागि एक करोड २४ लाख ५१ हजार ८३२, एकीकृत नमुना बस्तीका लागि एक करोड ६२ लाख र भूकम्प पछिको पुनर्निर्माणमा १३ करोड ८३ लाख रुपियाँ खर्च भएको पोखरेलले जानकारी दिनुभयो।