जानु पाण्डे
कपिलवस्तु, साउन १३ गते । थारू समुदायले गुरिया (गुरही) पिटेर नाग देउतालाई खुसी पारेका छन् । कपडाको टालोले गुरिया बनाएर पूजा गर्दै गुरही पर्व मनाइएको छ ।
थारू समुदायका युवतीहरु थालमा गुरियासँगै घुघरी (चना, मटर भुटेर बनाएको परिकार), खँडिया (पिठो र कर्कलोको पातको परिकार) राखेर पूजा गर्ने मान्यता रहेको छ । नाग पञ्चमीको दिन साँझ घरमा चर्न गएका गाई भैँसी फर्काउने समयमा यो पूजा गर्ने गरेको थारू कल्याणकारी सभा कपिलवस्तुका अध्यक्ष पवन थारूले बताउनुभयो ।
थारू भेसभुसामा सजिएका युवतीले गाउँको चौराहामा लगेर गुरिया राखेपछि पुरुषहरूले सोंता (लट्टी) ले गुरियालाई हान्ने प्रचलन छ । पुरुषले लौरो उचाल्दै ‘तोर घेङकि मोर घेङ (तेरो ठुलो कि मेरो ठुलो) भन्दै गुरियालाई हान्ने गर्दछन् । यसो गर्नाले नाग देउता खुसी भएर बस्तीको रक्षा गर्ने पौराणिक मान्यता रहेको बुद्धभूमि ४ बुडढीका बरघर बेचन थारूले बताउनुभयो ।
गुरियालाई लौरोले हानेपछि पुरुषलाई प्रसादस्वरूप भुजा बाँडेर गुरिया पर्व मनाइने गरिन्छ । गुरिया पर्व मनाएपछि मौसम परिवर्तन हुने मान्यता रहेको छ ।