• १४ साउन २०८२, बुधबार

वर्षा हुने आशमा सांसदलाई जोत्न लगाइयो हलो

blog

पानी माग्दै प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी र प्रदेश सभा सदस्य उर्मिलासिंह थारुलाई हलो जोत्न लगाइँदै ।

जनार्जन खत्री

सर्लाही, साउन १३ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –९, रामनगरमा पर्याप्त आकाशे वर्षाको कामना गर्दै मङ्गलबार दुई जना सांसदलाई हलो जोत्न लगाइएको छ । 

लामो समय खडेरी भए गाउँका अगुवा तथा भद्रभलाद्मी व्यक्तिलाई नियन्त्रणमा लिएर थारु समुदायमा हलो जोत्न लगाउने परम्परा छ । झमझम झरी पर्नुपर्ने साउन महिनामा पर्याप्त वर्षा हुन नसक्दा खेती प्रभावित भएको भन्दै रामनगरमा थारु समुदायका महिलाले सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिलासिंह थारुलाई हलो जोत्न लगाएका हुन् । 

चौधरी र थारु रामनगरकै स्थानीय हुनुहुन्छ । गाउँका महिलाले प्रतिकात्मक रुपमा प्रहरीको जस्तै पोसाक लगाएर प्रतिनिधि सभा सदस्य चौधरी र प्रदेशसभा सदस्य थारुलाई पक्राउ गरेर खेतसम्म लगेर धान रोप्न लगाएका छन् । 

दुई जना सांसदलाई हलो समात्न लगाएर महिला आफैले जुवाको दुवै भागमा तानेर प्रतिकात्मक रुपमा धान रोपाइँ गरेका हुन् । महिलाले त्यस ठाउँमा वर्षाको कामना गर्दै महादेवको पूजा समेत गरेका छन् । 

सर्लाहीसहित मधेशका जिल्लाको अधिकांश भूभागमा सोमबार वर्षा भएको थियो । मङ्गलबार पानी नपरेपछि महिलाहरु सांसदहरुलाई हलो जोत्न लगाएको स्थानीयको भनाइ छ ।