काठमाडौं, असोज २ गते । बडा दशैंमा बिदामा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको छ ।
सेनाले कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा भदौ २९ देखि असोज १८ गतेसम्म जमिन र हवाई उडानमार्फत उपलब्ध गराउनेछ । सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा जमिन बाटोबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रहरूमा हवाई उडानमार्फत सेवा दिइने सेनाले जनाएको छ ।
हालसम्म हवाई उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवार लाभान्वित भएका छन् । जमिन सेवा असोज ४ गतेबाट सुरु हुनेछ । प्रधान सेनापतिमा प्रभुराम शर्माले पदबहाली गरेपछि यस्तो सेवा उपलब्ध भएको हो । गत वर्ष यस सुविधा अन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिन मुभमार्फत १३४० जना यस सेवाबाट लाभान्वित भएका थिए ।
