• १३ साउन २०८१, आइतबार

प्रदेशस्तरीय विज्ञान प्रयोगशाला बन्दै

blog

फाइल तस्बिर

लक्ष्मण पौडेल

भैरहवा, असोज २ गते । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपियामा प्रदेशस्तरीय विज्ञान सङ्ग्रहालय निर्माण हुनेभएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पछियास्थित पब्लिक माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान सङ्ग्रहालय निर्माण हुन लागेको हो । 

सङ्ग्रहालयको लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खानले शिलान्यास गर्नुभयो । १६ करोडको लागतमा निर्माण हुन लागेको सङ्ग्रहालयका लागि यस वर्ष १० करोड रुपियाँ विनियोजन गरिएको शिक्षामन्त्री खानले जानकारी दिनुभयो ।

बहुवर्षे योजनाको रूपमा अगाडि बढाइएको सो योजनाको काम केही दिनभित्रै सुरु गरिने मन्त्री खानले जानकारी दिनुभयो । प्रदेश सरकारसँग सीमित स्रोतका कारण आयोजनालाई बहुवर्षीय बनाइएको उल्लेख गर्दै तीन वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो । 

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले प्रादेशिक विज्ञान सङ्ग्रहालयले सियारीलाई शैक्षिक हबको रूपमा विकास गर्न टेवा पुर्‍याउने बताउनुभयो । सङ्ग्रहालय निर्माणपछि सियारीलाई पर्यटकीय केन्द्रको रूपमा समेत विकास गरिने उल्लेख गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । 

पहिलो वर्ष सङ्ग्रहालय भवन निर्माण सम्पन्न हुनेगरी काम अगाडि बढाइको मन्त्रालयले जनाएको छ । विज्ञान सङ्ग्रहालय निर्माण भएपछि शिक्षक, विद्यार्थी तथा विज्ञान विषयका अन्वेषकलाई विज्ञानको इतिहास, विज्ञानका पुरानादेखि नयाँ आविष्कारको अध्ययन अवलोकन गर्न सकिनेछ । 

श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव मनोज गैरे, सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, विद्यालयका प्रधानाध्यापक डिलाराम खनाललगायतले विज्ञान प्रयोगशालामा रुचि भएकाहरूका लागि अध्ययन अवलोकन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।