• १३ साउन २०८१, आइतबार

म्यादीमा युवाको झुत्ती

blog

बर्दिबास समाचारदाता

बर्दिबास, असोज २ गते । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा युवाको व्यापक ‘क्रेज’ देखिएको छ। आवेदन खुलेको बिहीबार पहिलो दिन नै मधेश प्रदेशमा आठ हजारभन्दा बढीको आवेदन परेको छ।

जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको आठ जिल्लाबाट दुई हजार २९७ महिलासहित आठ हजार ४१३ जनाको आवेदन परेको हो। सबैभन्दा बढी सप्तरी जिल्लाबाट ४३५ महिलासहित एक हजार ६०३ जनाको आवेदन परेको छ। पर्सा जिल्लाबाट सबैभन्दा कम २२९ महिलासहित ६९२ जनाको मात्र आवेदन आएको छ। त्यस्तै महोत्तरीबाट २६० महिलासहित ७८५ जनाको आवदेन परेको जनाएको छ। 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार सिरहाबाट एक हजार ९४, धनुषाबाट एक हजार ८४, सर्लाहीबाट एक हजार ४२२, रौतहटबाट एक हजार छ र बाराबाट ७२७ जनाले आवेदन दिएका छन्। 

आवेदन दिनेमा व्यापक उत्साह देखिए पनि प्रदेशका आठवटै जिल्लामा भर्ना हुने म्यादी प्रहरीको सङ्ख्या अहिलेसम्म यकिन हुन सकेको छैन। प्रवक्ता तिम्सिनाले मतदान स्थलको वर्गीकरण, शान्तिसुरक्षाको अवस्था, स्थानीय परिस्थितिलगायतका कारण र वस्तुस्थितिको अध्ययनपछि सङ्ख्या निर्धारण हुने जनाउनुभयो। 

यस पटक पनि पुराना म्यादी तथा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ। त्यसबाट बचेका सिटमा नयाँलाई मौका दिने रणनीति रहेको छ। म्यादी प्रहरीमा भर्ना हुन चाहनेले असोज ६ गतेसम्म आवेदन बुझाइ सक्नुपर्ने छ।