• १३ साउन २०८१, आइतबार

मुआब्जा लिइयो संरचना हटाइएन

blog

दिवाकर पोखरेल

देउखुरी, असोज २ गते  । दाङको लमही नगरपालिकाअन्तर्गत लमही बजारमा पर्ने भौतिक संरचनाको मुआब्जा बुझेको वर्षौं बित्दासमेत ती संचरनाहरू हटाइएको छैन। 

लमही कोइलावास हुलाकी सडक निर्माणको समयमा लमही बजारदेखि कोलहीसम्मको सडकमा पर्ने भौतिक संरचनका लागि मुआब्जा वितरण भएको लामो समय बितेको छ। मुआब्जा पाएकाहरूले सडक विस्तार हुने आशामा थप संरचना बनाएका छैनन्। 

थप मुआब्जाको माग पनि राख्न छोडेका छैनन्। लमही नगरपालिका–५ लमही निवासी शेषमणि अधिकारीको एक धुर जग्गा लमही कोइलावास सडकमा पर्छ। त्यो जग्गा सडकमा परेबापत अधिकारीले दुई लाख छ हजार रुपियाँ मुआब्जा बुझिसक्नुभएको छ। सडकको जग्गामा पुरानो घर छ। जग्गाको मुआब्जा बुझेको पाँच वर्ष हुन थाल्यो। आज भत्काउँछ, भोलि भत्काउँछ भन्दाभन्दै यतिका समय बित्यो, उहाँले भन्नुभयो, सडकमा पर्ने जग्गा छाड्न तयार छौँ। जति बच्छ त्यसमा नयाँ संरचना बनाउने योजना छ।

लमही कोइलावास सडक कालोपत्रे सुरु हुने बेला साबिक सडकलाई आधार मानेर काम भयो। नालासमेत नयाँ बनाइएन। पुरानै कायम गरियो। लमही–कोइलावास हुलाकी सडक निर्माण गर्ने क्रममा बजार क्षेत्रमा पर्ने संरचना पनि हटाउने योजना थियो। 

बजार क्षेत्रको सडक साँघुरो भएको छ। सडकको दायाँबायाँ १५/१५ मिटर खाली हुनुपर्नेमा अहिले सात मिटरको सडक कालोपत्रे मात्रै भएको छ। स्थानीय सरकार चनाखो नहुँदा लमही बजारको सडक साँघुरो हुन पुगेको हो। लमही कोइलावास सडक विस्तार गर्दा नेपाल सरकारले सडक क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गरेको हो। अहिलेसम्म करिब तीस करोड रुपियाँ मुआब्जा वितरण गरिएको छ तर मुआब्जा बुझ्ने संरचना खाली नगर्ने समस्या भएकाले सडक क्षेत्र खाली गराउन नसकिएको सम्बद्ध अधिकारी बताउँछन्। हुलाकी सडकको नाममा जग्गा पास भइसकेको छ।

लमही–कोइलावास हुलाकी सडक खाली गराउने भने पनि काम गर्न नसकिएको लमही नगरपालिका प्रमुख जोखराज चौधरीले बताउनुभयो। उहाँले जग्गाको मुआब्जा बुझेको तर घरको पनि मुआब्जा चाहियो भनेर दाबी गर्नेहरूका बारेमा अध्ययन गरी निर्णयमा पुगिने उहाँले बताउनुभयो।