• १६ भदौ २०८१, आइतबार

डेङ्गु नियन्त्रण गर्न कवाडीखाना सारिँदै

blog

कास्की समाचारदाता

कास्की, असोज २ गते । कास्कीमा ५३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। डेङ्गुको सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि यसको नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको छ।

डेङ्गु हुने मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ भएकाले सरसफाइमा ध्यान दिन प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। डेङ्गु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा यसविरुद्धको सचेतना अभियान सुरु गरेको छ।

महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेङ्गु रोग रोकथामका लागि लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो। पालिकाले कवाडी सङ्कलन केन्द्र (कवाडीखाना)बाट डेङ्गु फैलन मद्दत पुगेको निष्कर्ष निकालेको छ।

कवाडी सङ्कलनमा आबद्ध व्यवसायीलाई कवाडी सङ्कलन केन्द्रहरू बजार क्षेत्रबाट बाहिर सार्न आग्रहसमेत गरिएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै केन्द्रलाई मुख्य बजार क्षेत्रबाट पाँच सय मिटर टाढा सार्न आग्रह गरेको हो। 

महानगरपालिकाका प्रमुख धनराज आचार्यले डेङ्गुको रोकथामका लागि नागरिक सचेतना आवश्यक रहेको बताउनुभयो। यसको प्रकोप रोक्नका लागि सरोकारवालाहरूको एकीकृत प्रयासमा जोड दिइएको छ।