• ९ मंसिर २०८१, आइतबार

साउन–भदौमा सरकारी आयव्यय

घट्यो राजस्व, बढ्यो खर्च

blog

काठमाडौँ, असोज २ गते । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो । 

यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना (साउन–भदौ)मा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये एक खर्ब ३० अर्ब ७० करोड रुपियाँ कर राजस्व उठेको छ । त्यस्तै १३ अर्ब १० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । 

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब ६४ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये एक खर्ब ४४ अर्ब ७६ करोड रुपियाँ कर राजस्व र १९ अर्ब ९० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको थियो ।

चालू आर्थिक वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । यसमध्ये कर राजस्व १२ खर्ब ९५ अर्ब ३७ करोड र गैरकर राजस्व एक खर्ब सात अर्ब ७७ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । 

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सङ्कलन भएको राजस्व कुल राजस्व लक्ष्यको १०.२५ प्रतिशत मात्र हुन आउँछ । त्यस्तै कर राजस्व भने लक्ष्यको १०.०९ प्रतिशत मात्र सङ्कलन भएको छ । गैरकर राजस्व कुल लक्ष्यको १२.१६ प्रतिशत मात्र सङ्कलन भएको छ ।

७९ करोड अनुदान

सोही अवधिमा सरकारले ७९ करोड ३० लाख रुपियाँ अनुदान प्राप्त गरेको छ । यो कुल लक्ष्यको १.४३ प्रतिशत मात्र हो । चालू आर्थिक वर्ष ५५ अर्ब ४५ करोड रुपियाँ अनुदान प्राप्त गर्ने लक्ष्य सरकारले राखेको छ । यसबाहेक अन्य प्राप्ति शीर्षकमा सरकारले १८ अर्ब ४२ करोड रुपियाँ प्राप्त गरेको छ । 

राजस्व, अनुदान र अन्य प्राप्तिसहित सरकारले दुई महिनामा कुल एक खर्ब ६३ अर्ब दुई करोड रुपियाँ प्राप्त गरेको छ । यो कुल लक्ष्यको ११.१८ प्रतिशत हो । यी सबै शीर्षक गरेर सरकारले चालू आर्थिक वर्ष १४ खर्ब ५८ अर्ब ६० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसबाहेक नपुग रकम आन्तरिक तथा बाह्य ऋणमार्फत पूर्ति गर्ने लक्ष्य सरकारले राखेको छ ।  

एक खर्ब ३४ अर्ब खर्च

सरकारले आव २०७९÷८० को पहिलो दुई महिनामा एक खर्ब ३४ अर्ब ३३ करोड रुपियाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले कुल बजेटको ७.४९ प्रतिशत खर्च गरेको हो । यो गत आर्थिक वर्षको साउन–भदौमा ८९ अर्ब ९३ करोड रुपियाँ मात्र खर्च गरेको थियो । 

चालू आर्थिक वर्ष कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँ खर्च गर्ने लक्ष्य राखेको सरकारले भदौसम्म चालूतर्फ एक खर्ब अर्ब ७३ करोड रुपियाँ खर्च गरेको छ । यो कुल चालू खर्च लक्ष्यको ९.१९ प्रतिशत हो । चालू आर्थिक वर्षका लागि ११ खर्ब ८३ अर्ब २३ करोड रुपियाँ चालू खर्च विनियोजन गरिएको छ । 

साउन–भदौको पुँजीगत खर्च भने न्यून छ । चालू आर्थिक वर्षका लागि कुल तीन खर्ब ८० अर्ब ३८ करोड रुपियाँ पुँजीगत खर्च विनियोजन गरिएकामा पहिलो दुई महिनामा जम्मा १.५४ प्रतिशत अर्थात् पाँच अर्ब ८६ करोड रुपियाँ मात्र खर्च भएको छ । 

त्यस्तै वित्तीय व्यवस्थातर्फ १९ अर्ब ७४ करोड रुपियाँ खर्च भएको छ । यो खर्च कुल वित्तीय खर्च लक्ष्यको ८.५४ प्रतिशत हो । चालू आर्थिक वर्ष वित्तीय व्यवस्थाका लागि सरकारले दुई खर्ब ३० अर्ब २१ करोड रुपियाँ छुट्याएको छ ।