• १६ भदौ २०८१, आइतबार

पानीको शुद्धीकरणपछि धारामा पठाइने

blog

सन्तोष सुवेदी

कास्की, असोज १ गते । मर्दीखोला मुहानको पानी पोखरेली जनताले वर्षौंदेखि पिउँदै आएका छन् तर पनि पर्याप्त छैन। नेपाल खानेपानी संस्थान पोखराका अनुसार दैनिक सात करोड लिटर पानीको माग छ। आपूर्ति भने पाँच करोड लिटर मात्र हुँदै आएको छ। 

खानेपानी संस्थानका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले आपूर्ति असहज भएको ठाउँमा बोरिङको पानी वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार पोखरामा खानेपानी संस्थानका ४७ हजार ग्राहक छन्। जनसङ्ख्या वृद्धिदर अधिक मात्रामा हुँदा आवश्यक खानेपानीको दीर्घकालीन वैकल्पिक स्रोतको उपभोग गर्न जरुरी रहेको उहाँले सुनाउनुभयो। 

सोही समस्या समाधानका लागि जापानी सहयोग नियोग (जाइका)का प्रमुख ओकुबो अकिमित्सुसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ। पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाइकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरिसकेको छ। जाइकाको चार अर्ब ८१ करोडको अनुदान सहयोगमा २०७६ सालदेखि सञ्चालित सो आयोजनाको निर्माण अन्तिम चरणमा छ। सो योजना सम्पन्न भएमा पोखरेली उपभोक्ताले मुहानबाट नै शुद्ध खानेपानीको सपना पूरा हुने देखिएको छ। 

मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने आयोजनाको लक्ष्य रहेको छ। पानी शुद्धीकरणका लागि पाइपलाइन विस्तारसँगै मर्दी मुहानमा ग्रिड च्याम्बर, सेडिभेन्टेसन ट्याङ्की र स्लोस्यान्ड फिल्टर निर्माण गरिएको सूचना अधिकारी यादवले बताउनुभयो। शुद्धीकरणका लागि पानी जम्मा गर्न पोखरामा विभिन्न ठाउँमा रिजर्भ पावर पानी ट्याङ्की निर्माण गरिएका छन्। पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ। पानीको मुहान मर्दी बाँधदेखि विन्ध्यवासिनी ट्याङ्कीसम्म साढे ११ किलोमिटर दूरी छ।