• १६ भदौ २०८१, आइतबार

करोडौँ खर्च, सडक जस्ताको त्यस्तै

blog

अर्जुन काफ्ले

स्याङ्जा, असोज १ गते । विगत छ वर्षबाट स्तरोन्नति थालिएको सडक अलपत्र परेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। अर्जुनचौपारी–छाप–सल्यान–आग्रीखर्क–पर्वत सडकको ठेकेदार कम्पनी काम सम्पन्न नगरी हिँडेपछि स्थानीय राजकुमार घलेको संयोजकत्वमा सङ्घर्ष समिति गठन भएको छ। 

२०७३ पुस ११ गते सूर्य सिरुवा वन्दना जेभीले सडक डिभिजन कार्यालय बागलुङसँग १० किलोमिटर सडक स्तरोन्नति गर्ने गरी १० करोड ७१ लाख ६० हजार ७८९ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। 

सडक निर्माणको काम दुई वर्षमा सक्ने गरी सम्झौता भएकामा चार वर्ष थप गर्दा पनि निर्माण कम्पनी सडक अलपत्र पारेर भागेपछि आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक घलेले बताउनुभयो। 

स्थानीयवासीले भैँसी बाख्रा बेचेर दुई÷चार हजार रुपियाँ सङ्कलन गरेर गोरेटो बाटो खनेको उदाहरण प्रस्तुत गर्दै संयोजक घलेले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकरी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारबाहीको माग गर्नुभयो। 

निर्माण कम्पनीले सम्झौताअनुसारको काम नगरेको र विगत चार महिनाबाट सम्पर्कविहीन भई अलपत्र अवस्थामा छाडेर भागेको घलेले बताउनुभयो। अलपत्र परेको सडक समयमा नै सम्पन्न गराउनका लागि आवश्यक पहल गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ। 

ठेकेदार कम्पनीले सात करोड ३५ लाख ४६ हजार ४८५ रुपियाँ भुक्तानी लिएको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोष अर्यालले बताउनुभयो। सडक डिभिजन बागलुङमार्फत ६३.६३ प्रतिशत रकम भुक्तानी लगे पनि सडक जस्ताको त्यस्तै छ। 

सडक अलपत्र पारेर निर्माण व्यवसायी हिँडेपछि पालिकाले पनि पत्र काटेको बताउँदै अर्जुनचौपारीका अध्यक्ष प्रकाश तिवारीले अब तोकिएको समयमा काम नसकेमा कारबाहीका लागि निकायमा थप पहल थाल्ने बताउनुभयो।