• ९ वैशाख २०८२, मङ्गलबार

आजबाट सार्वजनिक स्थलमा धूमपान निषेध

blog

काठमाडौँ, असोज १ गते । काठमाडौँ महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।

महानगरका नगरप्रमुख बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताउनुभयो। उहाँका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।

महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।

महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने बताइएको छ।