• १३ साउन २०८१, आइतबार

सुशासन र पारदर्शितामा चुक्दै गैरसरकारी संस्था

blog

मातृ शिशु तथा उपचार कार्यक्रम अन्तर्गत कोटीलामा प्रसूति गृह निर्माण हुँदै । तस्बिर– हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, भदौ ३० गते । गैरसरकारी संस्थाहरूले नियमित रूपमा सार्वजनिक सुनुवाइ नगरेको पाइएको छ । समुदायका हकहितका लागि र विकास निर्माणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका संस्थाहरूले सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ तथा सम्बन्धित नियमावली –२०६५ मा सार्वजनिक सुनवाइको कार्यविधिअनुसार जिल्लामा  सार्वजनिक सुनवाइ नगरेको पाइएको हो ।

गुड नेवर्स इन्टर नेशनल नेपाल र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) दातृ निकायको आर्थिक सहयोगमा र सहयोगी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपालले उपभोक्ता समितिमार्फत मातृ शिशु तथा उपचार कार्यक्रम अन्तर्गत जिल्लामा प्रसूति गृह निर्माण गर्दै आएका छन् ।

दातृ निकायका संस्थाले उपभोक्ता समितिलाई कुनै पनि गैरस्थानीय निर्माण सामग्री खरिदको जिम्मा नदिएर संस्था आफँले गैरस्थानीय सामग्री खरिद गर्ने गरेको र खरिद गर्दा पारदर्शिता नबनेको पाइएको हो ।

छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा प्रसूति गृह निर्माण समितिका अध्यक्ष मीन बहादुर भामका अनुसार नेपाल सरकारबाट जारी भएको सार्वजनिक खरिद ऐन बमोजिम निर्माण समितिले गैरस्थानीय सामग्रीहरू (सिमेन्ट ,सरिया, इट्टा) खरिद गर्ने जिम्मा उक्त संस्थाले नदिँदा पारदर्शिता नभएको महसुस भएको बताउनुभयो ।

समुदायका हकहितका लागि काम गर्दै आएका जिल्लाका गैरसरकारी संस्थाले पनि नेपाल सरकारको सार्वजनिक खरिद ऐन बमोजिम ती उद्देश्यलाई कार्यान्वयनमा पालना गरी  समुदायमा काम सञ्चालन गरेमा पारदर्शितामा सुधार आउने प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानबहादुर वलीको भनाइ छ ।

गुड नेवर्स इन्टर नेशनल नेपाल र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) दातृ निकायको आर्थिक सहयोगमा जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं– ६ कोटिलामा प्रसूति गृह निर्माणका लागि ६३ लाख सात हजार ७६४ रुपियाँ, छायाँनाथ रारा नगरपालिका वडा नं– ११ रोवामा प्रसूति गृहका लागि ६३ लाख ६४ हजार ६७२ रुपियाँ र छायाँनाथ रारा नगरपालिका वडा नं –१४ बाममा प्रसूति गृह निर्माणका लागि ६६ लाख ५२ हजार ४६४ रुपियाँको सम्झौता रहेको कोइकाको मुगुस्थित कार्यालयले जानकारी दिएको छ ।

कोइकाका मातृ शिशु तथा उपचार कार्यक्रमका जिल्ला संयोजक खेम रोकायाले समाज कल्याण परिषद्को कार्यविधिअनुसार गैरस्थानीय सामग्रीहरू स्वयम संस्थाले खरिदको जिम्मा लिएको बताउनुहुन्छ ।

उपभोक्ता समितिलाई अपनत्व महसुस गराउनका लागि स्थानीय सामग्री खरिद र खरिद भएका सामग्रीहरूको रेखदेख जिम्मा दिइएको उहाँको भनाइ छ ।

यता, प्रसूति गृहको कार्यान्वयनको जिम्मेवारी पाएको सहयोगी संस्था किडार्क नेपालका जिल्ला संयोजक टेकबहादुर शाहीले गैरस्थानीय सामग्री खरिदका लागि समुदायलाई सस्तो सुलभ हुनका लागी केन्द्रीय कार्यालयबाट सूचना आव्हान गरी टेन्डरमार्फत खरिद गरिएको बताउनुभयो ।