• ४ मंसिर २०८२, बिहिबार

झापाको दमकबाट लुटिएको हतियार पाँचथरको ओडारमा फेला

blog

बिष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ४ गते । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान बन्दुक सहित गोली प्रहरीले बरामद गरेको छ । झापाको दमकमा हतियार लुटेर पाँचथरको मिक्लाजुङको एक ओडारमा लुकाईएको अवस्थामा बन्दुक सहित त्यसमा लाग्ने केही गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाँचथरको मिक्लाजुङ-३ आरुबोटेमा रहेको ओडारबाट प्रहरीले म्यागेजिनसहितको ३०३ मार्क-३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र ह्यान्ड-ग्रिप, इन्सासको एक थान जंगी राउण्ड, र एसएलआरका तीन थान जंगी राउण्ड बरामद गरेको हो ।

प्रहरी कार्यालय आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचर मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाकले दमकबाट लुटिएको बन्दुक र गोली ओडारमा लुकाएको जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय दमकको टोली त्यहाँ पुगेर बन्दुक र गोली बरामद गरेको खड्काले बताउनुभयो ।

बरामद हतियार फोरन्सिक र कानुनी प्रक्रिया पूरा गरेर सुरक्षित रुपमा राखिएको पनि खड्काले जानकारी दिनुभयो । पक्राउ परेका फियाकविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी आवश्यक थप अनुसन्धान अघि बढाइएको खड्काले जनाउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएका २२ थान हतियारमध्ये २ थान फेला परेको छ । बाँकी २० थान हतियार हराइरहेका छन् । हराइरहेका हतियार खोजीका लागि विशेष टोली परिचालन भएको र कतिपय ठाँउमा अपरेसन जारी रहेको प्रहरीको भनाइ छ ।