• १३ साउन २०८१, आइतबार

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

महोत्तरीमा तीन हजार भर्ना गरिने

blog

बर्दिबास समाचारदाता

बर्दिबास, भदौ ३० गते । जिल्ला प्रहरी महोत्तरीले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना लिने प्रक्रिया सुरु गरेको छ। जिल्ला प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मङ्सिरमा हुने निर्वाचनका लागि करिब तीन हजार म्यादी प्रहरी भर्ना गर्न लागेको हो। 

प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले भर्ना प्रक्रियाका लागि सूचना जारी गरेको जानकारी दिनुभयो। “भर्ना हुन चाहनेले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन बुझाइसक्नु पर्नेछ,” उहाँले भन्नुभयो। प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि करिब तीन हजार भर्ना गरिने उहाँले जानकारी दिनुभयो। गत स्थानीय तह निर्वाचनका लागि महोत्तरीमा ४९८ महिलासहित दुई हजार ४७४ जना म्यादी प्रहरी भर्ना गरिएको थियो। यो पटकको भर्नामा पनि पुरानै अनुभवीलाई प्राथमिकतामा राखिएको छ। 

“पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन्,” उहाँले भन्नुभयो, “त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्छ।” भर्ना हुनका लागि नेपाली नागरिक भएको, साधारण लेखपढ गर्न जानेको, शारीरिक रूपमा तन्दुरुस्त, कुनै फौजदारी अभियोग नलागेको, कुनै दलको सदस्य नभएको र १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको लगायतका मापदण्ड पूरा गरेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०७९’ अनुसार आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ। त्यस्तै सार्वजनिक बिदाबाहेक असोज ६ गतेदेखि सुरु भई कात्तिक ८ गतेसम्म प्रशिक्षण तालिम दिइने जिल्ला प्रहरीले जनाएको छ। स्थानीय तह निर्वाचनको बेला जिल्ला प्रहरी कार्यालयमा मात्र आवेदन दिनुपर्ने व्यवस्था थियो। यो पटक भने भर्ना प्रक्रियालाई सहज र सुगम बनाउन जलेश्वरसमेत बर्दिबास र गौशालास्थित इलाका प्रहरी कार्यालयबाट पनि आवेदन फारम पाइने र बुझाउन सकिने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक पङ्गेनीले बताउनुभयो। 

भर्ना भएका म्यादी प्रहरीका लागि पारिश्रमिकबापत प्रतिदिन ८६९ रुपियाँको दरले ३४ हजार ६७० रुपियाँ पाउने व्यवस्था गरिएको छ । यस अतिरिक्त खाना खर्चबापत एकमुष्ट सात हजार दुई सय रुपियाँ र तोकिएको पोसाक एवं अन्य बन्दोबस्तीका सामान खरिदका लागि जनही छ हजार रुपियाँ सुविधा पाउने व्यवस्था गरिएको छ। ‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०७९’ मा उल्लेख भएअनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीले यातायातबापत एक हजार र तीन सयका दरले चार दिनको खाजा खर्चसमेत पाउने जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवले जानकारी दिनुभयो।