• १६ भदौ २०८१, आइतबार

'पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड' अमेरिकामा हुने

blog

काठमाडौं, भदौ २९ गते । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा हुने भएको छ । नेपाल अमेरिका सम्बन्धको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा अक्टोबर १३,१४ र १५ मा अवार्ड आयोजना हुने भएको हो । 

अवार्ड कार्यक्रममा अक्टोबर १३ र १४ मा नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेस्टिभल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम र १५ अक्टोबरमा अवार्ड वितरण कार्यक्रम हुने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।

'एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनी'को सह प्रयोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल एल सीले संयुक्त रुपमा ‘पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताउनुभयाे । 

नेपाललाई विदेशी चलचित्रकर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताउनुभयाे र सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी दिनुभयाे ।

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहसमेत समावेश गराउने र नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायाङ्कन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको छ ।

अवार्ड र फिल्म फेस्टिभल लागि छनौट समिति गठन भईसकेको र अवार्डको सम्पूर्ण जानकारी प्रेस विज्ञप्तिमार्फत ल्याउने तथा नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा फिल्म फेस्टिभलमा समावेश हुने चलचित्रहरुको जानकारी केही दिनमा गराउने अवार्डका नेपाल संयोजक मधुकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।