• ११ असोज २०८१, शुक्रबार

स्वास्थ्य संस्थामा औषधि अभाव

blog

इनरुवा समाचारदाता

इनरुवा, भदौ २९ गते । निःशुल्क रूपमा वितरण गर्ने औषधिको अभाव भएपछि सुनसरीको इनरुवा नगरपालिकाका वडामा रहेका स्वास्थ्य संस्थामा आउने सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्। 

ग्रामीण क्षेत्रमा मात्रै नभई जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्र रहेका १० वटै स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि अभाव भएकाले सेवाग्राही मारमा परेका छन्। मङ्गलबारमात्रै इनरुवा नगरपालिका–९, बबियाकी भोलादेवी यादव आफ्नो पाँच वर्षीय नाति गौरव यादवलाई पखाला र ज्वरो लागेकोले उपचार गराउन बबिया स्वास्थ्य चौकी पुग्नुभयो तर स्वास्थ्यकर्मी बाहेक औषधि कुनै पनि पाउनुभएन। 

निःशुल्क औषधिमा सिटामोल, जीवन जल, अल्बेन्डा झोल र छालासम्बन्धी औषधि दुई महिनादेखि अभाव रहेकोले समस्या भएको स्वास्थ्य चौकीका ध्रुव मेहताले बताउनुभयो। 

प्रदेश सरकार र स्थानीय सरकारले समयमा औषधि खरिद नगरेकाले यहाँका स्वास्थ्य चौकी, इलाका स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि अभाव भएको हो। इनरुवा–७, चान्दबेलामा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नुपर्ने ३५ प्रकारका औषधिमध्ये १७ प्रकारको मात्रै रहेको र त्यो पनि पर्याप्त नरहेको बताइएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय हुँदा कतै कम र कतै बढी गरेर माग र आवश्यकताको आधारमा आपूर्ति हुँदै आएकोमा अहिले स्थानीय र सङ्घ तथा प्रदेश सरकारको तालमेलका नमिलेकाले समयमा इनरुवा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि अभाव भएको स्वास्थ्यकर्मीको भनाइ छ।

कोटेसन र टेन्डर गरेर औषधि खरिद गर्ने हुँदा समय बढी लाग्ने र आएको औषधिसमेत नगरपालिकामा जम्मा गर्नुपर्ने त्यसपछि दाखिला र पठाउनुपर्ने भएकाले महिनाैँसम्म ढिलाइ भएको चौकी प्रमुखको भनाइ छ। बबिया स्वास्थ्य चौकी प्रमुख ध्रुव मेहताले समेत यहाँ निःशुल्क भनिएका सबै प्रकारको वितरण गर्ने औषधि अभाव रहेको बताउनुभएको छ। उहाँले माग फारम भरेर पठाएको महिना भन्दा ढिलो भयो त्यसमा पनि मागअनुसारको औषधि नपठाइदिँदा समस्या भएको सुनाउनुभयो।

इनरुवा नगरपालिका क्षेत्रभित्र रहेको चान्दबेला स्वास्थ्य चौकीमा एक महिनामा पाँच पटकसम्म सामान्य औषधिका लागि जाँदासमेत नभएको भन्दै फर्काइदिएको स्थानीय सेवाग्राही समिला सिंहले बताउनुभयो। उहाँले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि सकिएको भन्दै फर्काइदिएको गुनासो सुनाउनुभयो। यता इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले औषधि नियमित रहेको र केही समस्या भए तत्काल समाधान हुने प्रतिक्रिया दिनुभयो। त्यसका लागि स्वास्थ्य शाखालाई निर्देशन दिएको बताउनुभयो।