शशिधर पराजुली
विराटनगर, चैत ९ गते । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।
सरकारले डिजेलको मूल्य प्रतिलिटरमा १२ रुपियाँले वृद्धि गरेपछि इँटाको ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । इँटा उद्योगबाट निर्माणस्थलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्च बढेपछि उद्योगीले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपियाँसम्म मूल्य बढाएका छन् । सुनसरी र मोरङ क्षेत्रका उद्योगले त सूचना नै जारी गरेर नयाँ मूल्य सार्वजनिक गरिसकेका छन् । सुनसरीको दुहबीमा रहेको एबी ब्रिक्स एन्ड टायल इन्डस्ट्रिजले १ नम्बर इँटाको मूल्य प्रतिगोटा २४ रुपियाँ कायम गरेको छ । उद्योगीका अनुसार ढुवानी गर्न इन्धनको मूल्य बढेका कारण मूल्य बढाउनु परेको हो ।
इँटा व्यवसायी महासङ्घका सचिव महेन्द्र साहले २२ रुपियाँमा बिक्री गरिरहेको इँटा ढुवानी र इन्धनको मूल्यवृद्धि भएकै कारण बढाएर २४ रुपियाँमा बेच्नु परेको जानकारी दिनुभयो । यद्यपि मूल्यवृद्धिको संस्थागत निर्णय भने नभएको र कम्पनीले लागत अनुसार मूल्य निर्धारण गरेको उहाँले बताउनुभयो ।
मूल्य बढ्नुको अर्को मुख्य कारण पत्थर कोइलाको मूल्यवृद्धि पनि रहेको उहाँले बताउनुभयो । साहका अनुसार इँटा पोल्न प्रयोग गरिने कोइलाको मूल्य असोजसम्म प्रतिटन ३३ रुपियाँ थियो । अहिलेसम्म असोजमा खोलिएको एलसीबाट आएको कोइलाले काम चलिरहेकोमा आजभोलि खोलिने एलसीमा प्रतिटन ३३ हजारबाट बढेर ४४ हजार रुपियाँसम्म पुगेको छ । यसरी कोइलाको मूल्यमा प्रतिटन १२ हजार रुपियाँले वृद्धि हुँदा इँटा उत्पादनको लागत बढेको व्यवसायीको भनाइ छ ।
इन्धन र कोइलाको मार खेपिरहेका उद्योगीलाई हालै भएको बेमौसमी वर्षाले थप ठुलो आर्थिक क्षति पु¥याएको छ । सुकाइएका काँचा इँटा पानीले भिजेर नष्ट भएका छन् । सचिव साहका अनुसार औसतमा एउटा उद्योगको करिब पाँच लाख गोटा काँचा इँटा पानीले गलेर माटोमा परिणत भएको छ ।
सुनसरी र मोरङ क्षेत्रका करिब ४१ वटा उद्योगमा गरी झन्डै दुई करोड गोटा इँटा नष्ट भएको अनुमान छ । एउटा काँचो इँटा तयार गर्न माटो र श्रम गरी करिब चार रुपियाँ लागत लाग्ने उहाँले जानकारी दिनुभयो । यसरी हेर्दा एउटै उद्योगलाई २० लाखदेखि ४० लाख रुपियाँसम्मको प्रत्यक्ष घाटा भएको छ ।
इँटाको मूल्य बढेपछि यसले समग्र निर्माण क्षेत्रलाई नै सुस्त बनाउने जोखिम बढेको छ । कोइला, डिजेल र कच्चा पदार्थको मूल्य मात्र होइन, बजार महँगो भएपछि इँटा भट्टामा काम गर्ने श्रमिकले पनि ज्याला बढाउन दबाब दिइरहेका छन् ।
लागत खर्च बढ्ने तर बजारमा उत्पादित इँटाको उचित मूल्य नपाउने हो भने उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायी बताउँछन् । इँटाको गुणस्तर अनुसार मूल्य फरक फरक भए पनि उत्पादनमा लाग्ने स्थिर खर्च एउटै हुने भएकाले कमसल इँटा बिक्री गर्दा उद्योगलाई झन् ठुलो नोक्सानी हुने गरेको छ ।